सन्त मोरारी बापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर उत्पन्न विवाद साम्य भएसँगै कथावाचन सुरु

रुपन्देही खबर , २७३  पटक हेरिएको

भैरहवा, माघ २४

लुम्बिनीमा भारतीय सन्त मोरारी बापुद्वारा गरिने कथावाचनको विषयलाई लिएर उत्पन्न विवाद साम्य भएसँगै कथावाचन सुरु भएको छ । लुम्बिनी विकास कोषमा मंगलबार रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको रोहबरमा बसेको बैठकले चारबुँदे सहमति गरेसँगै विवाद साम्य भएको हो । बैठकमा लुम्बिनी गुरुयोजनाबमोजिम पवित्र उद्यान र अन्तर्राष्ट्रिय विहार क्षेत्रलाई कुनै पनि असर नपर्ने गरी सम्मेलन केन्द्रमा मोरारी बापूको कथावाचन कार्यक्रमको कोषले व्यवस्थापन गर्ने सहमति भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, महासंघका केन्द्रीय कोषाध्यक्ष विमल सारू, संघर्ष समितिका संयोजक पार्वती घर्ती, नेपाल आदिवासी जनजाती महासंघ रूपन्देहीका अध्यक्ष चित्रलाल तुलाचन, लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण), कार्यकारिणी सदस्य विश्वराज पौडेल र रामकथाका स्थानीय संयोजक राजेश कुमार अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

त्यस्तै माघ २३ गते पर्सा चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा भएको घटनाको दुःख व्यक्त गर्दै घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, घटनाको आवश्यक छानबीन गरी दोषीलाई कानुनबमोजिम कारवाही गर्ने सहमतिपत्रमा उल्लेख गरिएको छ ।

विश्व शान्ति क्षेत्र लुम्बिनीका सन्दर्भमा यी विषयलाई लिएर कुनै पनि पक्षले विरोध कार्यक्रम नगर्ने सहमति गरिएको छ । त्यसै गरी लुम्बिनीमा सञ्चालनमा भएको राम कथाका विषयलाई लिएर विभिन्न बौद्धमार्गीहरूले संवादका क्रममा राखेको सुझावलाई मध्यनजर गर्दै आयोजकहरूलाई ध्यानाकर्षण गराइ कार्यान्वयन गर्ने, अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र सञ्चालनमा आएका सरोकारका विषयहरूमा लुम्बिनी विकास कोषले बुद्ध, धर्म, संघ, दर्शन र परम्पराविपरीत नहुने गरी कार्यविधि बनाउने, उक्त कार्यविधि बनाउँदा बुद्ध धर्मसँग सम्बन्धित संघ–संस्था र सरोकारवालासँग परामर्श गर्ने सहमति भएको छ ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेय, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, रूपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीको उपस्थिति थियो ।  

यसैबीत राम कथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभा हलमा प्रवचन शुभारम्भ गरिएको छ । प्रवचन शुभारम्भमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, सिके गुप्ता, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय र स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

९ दिनसम्म चल्ने प्रवचनमा नेपालबाहेक भारतलगायत विश्वभरका २ हजार बढी श्रद्धालु लुम्बिनी आएको स्थानीय आयोजक समितिका संयोजक राजेशकुमार अग्रवालले जानकारी दिनु भएको छ।

आध्यात्मिक गुरु मोरारीले यसअघि नेपालमा सन् २०२१ मा मुक्तिनाथ, २०२२ मा जनकपुरमा कथा वाचन गरिसकेका छन । त्यस्तै काठमाडौं र भुसुण्डी सरोवर तिलिचो तालमा पनि कथा वाचन भइसकेको अग्रवालले बताए । कार्यक्रम स्थलमा दैनिक निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।

प्रवचनले लुम्बिनीको पर्यटन प्रवद्र्धन र प्रचारप्रसारमा ठूलो टेवा पुर्याउने अपेक्षा गरिएको छ । प्रवचनका लागि लुम्बिनी आएका सन्त मोरारीले सोमबार मायादेवी मन्दिरको दर्शन गर्दै पवित्र भूमिमा आउना पाउँदा परमआनन्द महसुस गरेको बताएका थिए। कार्यक्रमको चर्चित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: २०२३-०२-०७ , समय : २२:३०:२६ , २ वर्ष अगाडि