उर्मिला यादव यात्री , २४७ पटक हेरिएको
परासी, फागुन १७
नवलपरासीमा सरकारी निकाय र जनसमुदाय बिच समन्वय नहुदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको एक कार्यक्रमका वक्ताहरुले गुनासो गरेका छन । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा सञ्चारिका समुह लुम्बिनी प्रदेशको सहकार्यमा मंगलबार परासीमा भएको प्रजनन स्वास्थ्य सम्बन्धि महिला जनप्रतिनिधि, अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुराको गुनासो गरेका हुन ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका उपसचिव महेश पाण्डेयले जिल्लाको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै हरेक स्थानिय तहमा रहेको प्रजनन स्वास्थ्य सम्बन्धी समस्यालाई समाधान गर्न स्वास्थ्य कार्यालयले पहल गर्ने बताउनु भएको छ । उहाले जिल्लाको हरेक स्थानिय तहमा सुबिधा सम्पन्न डेलिभरि सेन्टर र स्वास्थ्य परिक्षणको पहुच नहुदा आमा र बच्चाको मृत्यदरमा बृद्धि भएको बताउनु भयो । जिल्लामा रहेको स्वास्थ्य सम्बन्धी समस्याहरुलाई समाधान गर्न त्यही अनुसार थप कार्यक्रमहरु संचालन गर्न पहल गर्ने साथै जिल्लामा रहेका स्वास्थ्य स्ांस्थाको समस्या पहिचान गरी क्षमतामा बृद्धि गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । उहाँले स्वास्थ्य क्षेत्र एकदमै संबेदनशील क्षेत्र भएकोले सहज र सरल स्वास्थ्य पहुँचमा सबै नागरिकलाई ल्याउन सम्बन्धित सरोकारवालाले ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख ओम प्रकाश पन्थीले जिल्लामा भएको स्वास्थ्य समस्यालाई ब्यवस्थापन गरी सम्बोधन गर्नुपर्ने बताउनु भयो । उहाले स्वास्थ्य क्षेत्रमा धेरै समस्या भएको बताउदै सरकारी निकाय र जनसमुदाय बिच समन्वय नहुदा सेवा प्रवाहमा अवरोध आउने गरेको समेत बताउनु भएको छ ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा केहि सुबिधा भएकोले केहि सुधार भएको बताउनु भएको छ । उहाले जिल्लामा संस्थागत डेलिभरि कम भएको हुदा जिल्लाबासीहरु बुटवल, भैरहवा तर्फ स्वास्थ्य परिक्षणको लागी जान बाध्य भएको बताउदै अब ग्रामिण अल्ट्रासाउण्डलाई जोड दिएको बताउनु भयो । उहाले अबको दिनमा गर्भवती महिलाहरुका लागी हरेक पालिकामा तालिका बनाएर प्रत्येक महिनामा अल्ट्रासाउण्ड गर्नुपर्ने माग गर्नु भएको छ ।
उहाले परिवार योजनाका ५ वटा साधनहरुलाई बढाउनु पर्ने बताउदै जिल्लाको केहि पालिकामा नभएकोले यसलाई पनि जोड दिएको बताउनु भयो । उहाले जिल्लामा पाठेघर खस्ने महिलाहरुका लागी स्वास्थ्य परिक्षण गरि सम्बन्धित ठाउमा पुर्याउन सहज वातावरण मिलाउने बताउनु भयो । हाल जिल्लामा स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत बजेट रहेकोमा त्यसलाई बढाएर १० प्रतिशत बजेट छुट्याउन आफुले पहल गर्ने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी पाल्हीनन्दन गाउपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारीले स्वास्थ्य क्षेत्रमा राजनितिक कारणले गर्दा समस्या सिर्जना भएको बताउनु भएको छ । उहाले राजनितिक कारणले गर्दा पनि काम गर्न असहज भएको गुनासो गर्नु भएको छ । उहाले अझै पनि समाजमा स्वास्थ्य सम्बन्धी जनचेतना र ज्ञानको कमीले गर्दा समस्या लुकाउने गरेको बताउनु भयो । उहाले आफनो पालिकामा भिडियो एक्सरे , आइरन चक्की , क्याल्सियम लगायतका सेवा निशुल्क प्रदान गर्दै आएको बताउनु भयो । उहाले स्वास्थ्य क्षेत्रमा धेरै कार्यक्रमहरु संचालन गर्दै आएको बताउदै आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा बजेट नै छुटयाएर कार्यक्रमहरु ल्याउने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झाना चौधरीले रामग्राम नगरपालिकाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नागरिकलाई सहज र सरल पहुच पुर्याउन र स्वास्थ्यमा कुनै कमि हुन नदिने खालका योजनाहरु ल्याउने बताउनभयो ।
त्यस्तै सरावल गाउपालिकाकी उपाध्यक्ष बासमति हरिजनले सरावल गाउपालिकामा स्वास्थ्य क्षेत्रमा अलि बढी नै बजेट छुट्याई पालिकालाई स्वास्थ्यको पुर्ण पहुचमा ल्याउने योजना रहेको बताउनुभयो । साथै उहाँले पालिका भित्र कोही नागरिक स्वास्थ्य बाट बञ्चित भई अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरावल गाउपालिका विभिन्न योजना अघि सारेको बताउनुभयो ।
यस्तै गरी शसक्तिकरण नेपालकी पुष्पा लामाले आफनो समुदायको ब्यक्तिहरुलाई कुनै पनि स्वास्थ्य संस्थामा सेवा लिन समस्या रहेको गुनासो गर्नु भएको छ । उहाले सरकारले प्रदान गर्दै आएको प्रजनन स्वास्थ्य सम्बन्धी सेवामा महिला पुरुष तोकिएकोले आफुहरु कुन समुदायको भएको पहिचान नै नभएकोले अव यसलाई सच्याइ ब्यक्ति राख्नुपर्ने माग गर्नु भएको छ । उहाले हरेक स्वास्थ्य संस्थामा तेस्रो लिंगी समुदायका ब्यक्तिहरुलाई उपचार गराउन समस्या रहेकोले आफनै क्लिनिक नै संचालन गर्दै आएको बताउनु भयो ।
यस्तै गरी सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले अब सञ्चारकर्मीले प्रजनन स्वास्थ्यलाई जोडेर समाचार लेख्नु पर्नेमा जोड दिनु भएको छ । अध्यक्ष अनमोलले प्रजनन स्वास्थ्य अधिकार , महिला अधिकार र लैंगिक हिंसाबिच समन्वय , लगायत महिलाले अव वकालत सुरु गर्नुपर्ने बिषयमा सहजीकरण गर्नु भएको थियो । यस्तै गरी कार्यक्रममा स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत सुनिता ज्ञवालीले लुम्बिनी प्रदेशको प्रजनन स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । उहाले आर्थिक बर्ष २०७७, ७८ को तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा प्रसुतीको समयमा ७२ जना आमाले ज्यान गुमाएका छन । भने आर्थिक बर्ष ०७८, ७९ मा आमाको मृत्युदरमा बृद्धि भएको अधिकृत ज्ञवालीले जानकारी दिनु भयो । उहाले जति सेवासुबिधा भएपनि अस्पतालमा मृत्यु हुने आमाको संख्यामा कमी आउन नसकेको बताउनु भएको छ ।
सो अवसरमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अधिकारकर्मी , पत्रकार लगायत तेस्रो लिङ्गीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२३-०३-०१ , समय : ११:२९:३६ , २ वर्ष अगाडि