रुपन्देही खबर , ९१ पटक हेरिएको
 
भैरहवा, कार्तिक १४
भिम अस्पताल भैरहवाबाट सञ्चालन भइरहेका विभिन्न स्वास्थ्य सेवाहरूको वार्षिक प्रगति समीक्षा गोष्ठी एक विशेष समारोहका बीच सम्पन्न भएको छ । भिम अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्माको अध्यक्षता तथा जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

जिल्ला समन्वय समिती रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बोल्दै “भिम अस्पताल भैरहवाको गौरव भएको बताउदै यहाँका स्वास्थ्यकर्मीले जनताको जीवनरक्षा गर्न जुन समर्पण देखाएका छन्, त्यो प्रशंसनीय भएको बताउनु भएको छ । उहाले स्थानीय, प्रदेश र संघीय सरकार बीच सहकार्य गरेर अस्पताललाई अझ आधुनिक र सुदृढ बनाउनुपर्नेमा जोड दिनु भयो । उहाले स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको बताउदै हरेक नागरिकले सहज रूपमा उपचार सेवा पाउन सक्ने वातावरण बनाउने हाम्रो साझा जिम्मेवारी भएको उल्लेख गर्नु भयो । उहाले “समन्वय समितीको तर्फबाट अस्पतालका योजनाहरूमा आवश्यक सहयोग र समर्थन गर्न तयार रहेको बताउदै अबको ध्यान गुणस्तर, पारदर्शिता र परिणाममुखी सेवामा हुनुपर्नेमा जोड दिनु भयो । 
यस्तै गरी भिम अस्पताल विकास समितिका अध्यक्ष डा.अनन्त कुमार शर्माले अस्पतालको समग्र प्रगति प्रशंसनीय भएको बताउँनु भएको छ । उहाले “भिम अस्पतालले धेरै चुनौतीका बाबजुद पनि प्रदेशकै अग्रणी स्वास्थ्य संस्था बन्ने दिशा लिएको बताउदै हामीले सेवा विस्तारसँगै पारदर्शिता, दक्षता र उत्तरदायित्वमा जोड दिएको उल्लेख गर्नु भयो । उहाले अस्पतालमा अत्याधुनिक उपकरण ल्याउने, दक्ष जनशक्ति अभिवृद्धि गर्ने र आम जनताका लागि सहज र सस्तो उपचार उपलब्ध गराउने हाम्रो मुख्य उद्देश्य रहेको बताउदै अस्पताल विकास समिती यसका लागि निरन्तर प्रयासरत रहेको बताउनु भएको छ । उहाले भन्नु भयो “अस्पतालमा आउने हरेक बिरामीले सेवा पाए भन्ने महसुस गर्नुपर्छ । हामी अस्पताललाई आधुनिक र व्यवस्थित स्वास्थ्य केन्द्रमा रूपान्तरण गर्न चाहन्छौं ।”
अस्पतालकी मेडिकल सुपरीटेण्डेन्ट डा.शकुन्तला गुप्ताले स्वागत मन्तव्य राख्दै “भिम अस्पताल भैरहवा रुपन्देही जिल्लाको मात्र नभई लुम्बिनी प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा अघि बढिरहेको बताउनु भएको छ । उहाले भिम अस्पतालका बिरामीहरूलाई गुणस्तरीय सेवा पु¥याउने लक्ष्य राखेको बताउदै  अहिले पनि अस्पतालमा विभिन्न विशेषज्ञ सेवा थपिने तयारी भइरहेको बताउनु भएको छ । उहाले अझै पनि उपकरण, जनशक्ति र पूर्वाधारमा सुधार आवश्यक भएको जोड दिदै यसका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकारवालाको सहकार्य अपरिहार्य भएको बताउनु भएको छ ।

यस्तै गरी अस्पतालका मेडिकल रेकर्ड सुपरभाइजर खमजङ खत्रीका अनुसार, आव २०८१–०८२ मा ओपिडीतर्फ १ लाख २० हजार ३ सय ४६ जना बिरामीले उपचार गराएका थिए, जुन अघिल्लो आवको १ लाख १२ हजार ८ सय ४५ जनाभन्दा बढी हो। इमर्जेन्सीमा आव २०८१–०८२ मा २१ हजार २ सय ८९ जना र अघिल्लो आवमा १४ हजार ९ सय १३ जनाले उपचार लिएका थिए ।
आ.ब. २०८०–०८१ मा कुल ५ हजार ६ सय २६ जना बिरामीको शल्यक्रिया भएकोमा गत आवमा ५ हजार ८ सय ६० जनाको शल्यक्रिया गरिएको थियो। तथ्याङ्कअनुसार भीम अस्पतालमा प्रतिदिन १ हजार १ सय ४९ वटा ल्याब टेष्ट, ३४ वटा अल्ट्रासाउण्ड र १३ वटा मुटुको इसिजी हुने गरेको छ ।
गोष्ठीमा अस्पतालका क्षेत्रीले अस्पतालले विगत एक वर्षमा उपलब्ध गराएका सेवा, सुविधाहरू र प्रमुख उपलब्धिहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार भिम अस्पतालले चालु वर्षमा उपचार सेवा, आकस्मिक सेवा, मातृत्व तथा शिशु स्वास्थ्य, प्रयोगशाला परीक्षण, एक्स–रे, अल्ट्रासाउन्ड, डायलाइसिस, फार्मेसी सेवा र सामुदायिक स्वास्थ्य कार्यक्रमहरूमा उल्लेखनीय सुधार गर्न सफल भएको छ। उहाँले थप भन्नुभयो, “अस्पतालले सीमित जनशक्ति र स्रोतका बाबजुद पनि बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै निरन्तर सेवा दिइरहेको बताउनु भएको छ ।
यस्तै गरी लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगानाले सञ्चार माध्यमको भूमिकाबारे जोड दिँदै “अस्पतालको प्रगति र समस्याबारे समाजमा सन्तुलित जानकारी पु¥याउन सञ्चारकर्मीले सकारात्मक र जिम्मेवार भूमिका खेल्नुपर्छ । भिम अस्पतालको सेवा, उपलब्धि र चुनौतीबारे पारदर्शी ढंगले जनतासमक्ष ल्याउने जिम्मेवारी मिडियाको भएको बताउदै यसले संस्थाको विश्वास र जनसमर्थन दुवै बढाउँने बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी नेकपा एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले “स्वास्थ्य सेवा कुनै विलासिता नभई यो जनताको अधिकार भएको बताउनु भएको छ । भिम अस्पतालले राजनीतिक हस्तक्षेपबाट मुक्त भएर पूर्णरूपमा सेवा–केन्द्रित संस्था बन्नुपर्ने बताउदै हामी सबैले यस संस्थाको स्वायत्तता र विश्वसनीयता जोगाउन सहयोग गर्नुपर्ने जोड दिनु भयो ।
सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि अनिल कुमार केसीले “नगरपालिकाको तर्फबाट हामी भिम अस्पतालसँग निरन्तर सहकार्य गर्न तयार रहेको बताउनु भएको छ । उहाले नगरका नागरिकहरूले स्वास्थ्य उपचारका लागि टाढासम्म जानुपर्दैन भन्ने लक्ष्यका साथ अस्पतालसँग साझेदारी गरेर काम गर्न चाहेको बताउदै हामीले अस्पताललाई डिजिटल सेवा, स्वच्छ वातावरण र नागरिकमैत्री प्रणालीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो ।
यस्तै गरी भिम अस्पताल विकास समितिका पूर्व अध्यक्ष विशेश्वर बस्यालले आफुले काम गरेको समयमा देखिएका चुनौतीहरू अहिले पनि केही हदसम्म कायम रहेको बताउनु भएको छ । उहाले अहिलेको समिती र प्रशासनको प्रयास सराहनीय रहेको बताउदै अस्पतालमा अझ धेरै दक्ष जनशक्ति भर्ना, आधुनिक उपकरण जडान र सेवा विस्तार गर्न सके अस्पताल प्रदेशकै नमुना बन्न सक्ने बताउनु भएको छ ।”
यस्तै गरी निबर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले “भिम अस्पतालको वर्तमान स्थिति विगतका प्रयासहरूको निरन्तरता भएको जोड दिदै  अस्पतालले अब विशेषज्ञ सेवा विस्तार, हृदय र क्यान्सरजस्ता रोगका उपचार केन्द्र स्थापना गर्ने योजना अगाडि बढाउनुपर्ने बताउदै  अस्पतालले जनताको भरोसा जितिसकेको र अब त्यो भरोसालाई संस्थागत विकासमा परिणत गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले भिम अस्पताललाई अझ सशक्त र आधुनिक बनाउन आवश्यक सुझाव पनि दिएका थिए ।
प्रकाशित मिति: २०२५-१०-३१ , समय : १४:१०:४० , ६ घन्टा अगाडि
