हृदयराम गुप्ता , ५२४ पटक हेरिएको
मर्चवार, चैत २४
रुपन्देहीको सम्मरीमाई गाउँपलिकामा बिहिवार आगलागी हुँदा खेतमा रहेको गहुँबाली जलेर नष्ट भएको छ । आगलागीले १ सय ७७ कठ्ठा गहुँबाली जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिनु भएको छ । सम्मरीमाई वडा नंम्बर ४ बिजगौरी, पोखरहवाँ र नगवलिया क्षेत्रमा भएको आगलागीले २४ जना किसानको गहुँबाली जलेर नष्ट भएको हो ।
सम्मरीमाई ४ बिजगौरीका प्रहलाद लोधले गहुँ काटेर खेतमा रहेको ठुटो जलाउने क्रममा आगलागी भएको स्थानीय पप्पु कलवारले बताएका छन । उनले भने ‘प्रहलादको खेत पश्चिम क्षेत्रमा छ उनले खेतमा रहेको ठुटो हवा चलेको बेलामा जलाउन थालेपछि आगो अन्य खेतमा फैलियो । मेरो ९ बिगहा गहुँ जलेर नष्ट भएको छ । ’ नजिक दमकलको ब्यवस्था नहुँदा स्थानीयले आगो निभाइसकेपछि मात्र दमकल आएको कलवारले बताउनु भयो । आगो लागेको करीब १ घण्टा पछि मात्र स्थानीयले विभिन्न माध्यमबाट आगो नियन्त्रण गर्न सफल भएको कलवारको भनाइ छ ।
स्थानीय बेचन गुप्ताले ४ बिगहा मध्ये २ बिगहाको गहुँ फसल भित्रयाउन सफल भएको र २ बिगहा जलेर नस्ट भएको बताएका छन । हवाहुरी अधिक रहेको कारणले अरु फसल बचाउन नसकेको गुप्ताले बताएका छन । उनले भने ‘हामीले जती सक्यो उती प्रयास ग¥यौ तर पर्याप्त पानीको ब्यवस्था नभएकोले अरु फसल बचाउन सकेनौँ ।’
आगलागी भएको जानकारी पाउन साथ दमकल सहित आगलागी स्थल तर्फ दगुरेको प्रदेश सभा सदस्य कन्हैया बनियाले बताउनु भएको छ । उहाले भन्नु भयो ‘मर्चवारमा दमकलको ब्यवस्था छैन भैरहवाबाट करीब ५५ मिनेट समय लाग्यो जसले गर्दा धेरै क्षति हुन पुगेकोछ ।’ ‘केही दिन अघि वर्षाले धेरै फसलमा क्षति पुगेको थियो यस पछि आगलागीले किसानको घाउ झन ठुलो बनाइदिएको छ’ उहाले भन्नु भयो । आगलागीमा भएको क्षतिको पुर्तिको लागि प्रदेश सरकारसंग माग गरी आफ्नो कार्यकाल भित्र मर्चवार क्षेत्रमा दमकलको ब्यवस्था गर्ने उहाले प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
घटना स्थलमा पुगेपछि सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंहले गहुँ क्षति भएका किसानहरुलाई राहत स्वरुप क्षतिपुर्तिको ब्यवस्था गर्ने बताउनु भएको छ । क्षति भएको गहुँको तथ्यांक संंकलन गरी विभिन्न निकायमा समन्वय गरी ब्यवस्थापन गर्ने उहाले बताउनु भयो ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : ०६:४१:३४ , २ वर्ष अगाडि