रुपन्देही खबर , १७८ पटक हेरिएको
भैरहवा, वैशाख २७
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त संचार सेवा केन्द्र, बुटवल÷इकाई, भैरहवाबीच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।
सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को तर्फबाट वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रको तर्फबाट रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले हस्ताक्षर गर्नु भएको छ ।
सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने तथा सिद्धार्थनगर–५ बाट रक्त संचार सेवा भैरहवाको लागि सिद्धार्थनगर–५ भित्र रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको वडाअध्यक्ष श्रेष्ठले बताउनु भयो ।
सम्झौताअनुसार रक्त संचार सेवा केन्द्र भैरहवा र बुटवल इकाईले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउनेछ ।
निःशुल्क रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात (नागरिकता, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी, बसोबासको प्रमाणपत्र/ सिफारिस) लगायत कागजातको प्रतिलिपि बिरामीका आफन्तले रक्त संचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेश गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।
त्यस्तै आपतकालिन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भइ सम्बन्धित व्यक्तिले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पाँच दिन भित्रमा कागजात पेश गरेमा नगद फिर्ता गरिने, सो को सहजीकरण र व्यवस्थापन रक्त संचार सेवा केन्द्रले गर्ने उल्लेख छ ।
त्यसै गरी वडा कार्यालयले कम्तीमा वर्षको २ वटा रक्त संकलन शिविर सक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजना गर्ने सम्झौता पत्रमा उल्लेख रहेको वडा सदस्य विनित बेरिवालले जानकारी दिनु भयो । यो सम्झौताको अवधि कम्तीमा २०८३ साल असार मसान्तसम्म रहने उहाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तथा भैरहवा मर्निङ वाक ग्रुपका अध्यक्ष ओमकार गौचनले सिद्धार्थनगर वडा नम्बर ५ ले निरन्तर राम्रो काम गरेको बताउनु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले विश्व रेडक्रस दिवसको दिन महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ ले राम्रो काम गर्दै आएको बताउनु भएको छ ।
सिद्धार्थनगर–५ की वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२३-०५-१० , समय : २३:५०:२२ , १ वर्ष अगाडि