रुपन्देही खबर , ३७ पटक हेरिएको
काठमाडौँ, असोज ६
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सडक तथा पुलको व्यवस्थापन र भविष्यका जोखिम न्यूनीकरणका लागि करिब १ खर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउनुभएको छ। सोमबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विपद्पछि तत्काल क्षति हटाउने, सडक तथा पुलको कनेक्टिभिटी पुनःस्थापना गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार विपद् प्राधिकरणले हालै करिब ९० अर्ब रुपैयाँको प्रारम्भिक आवश्यकता प्रस्तुत गरेको छ। उक्त रकममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माण, दुईवटा वैकल्पिक मार्ग निर्माण र भविष्यमा हुने जोखिम न्यूनीकरणका कार्यक्रम समावेश छन्। भवन, खानेपानीलगायतका अन्य पूर्वाधारको क्षति थपिँदा कुल आवश्यकता करिब १ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो।
विपद्पछि क्षतिग्रस्त संरचनाको तत्काल मर्मतसम्भार र कनेक्टिभिटी पुनःस्थापनाका लागि सरकारले आपत्कालीन टेन्डर प्रक्रियाबाट काम अघि बढाइसकेको मन्त्री लम्सालले जानकारी दिनुभयो। पहिलो चरणमा क्षति हटाउने र यातायात सम्पर्क पुनःस्थापना गर्ने कामलाई प्राथमिकता दिँदै असोज १२, १६ र १७ गते चरणबद्ध रूपमा आपत्कालीन टेन्डर खोलिएको उहाँले बताउनुभयो।
जटिल भौगोलिक अवस्था रहेका कृष्णभीरलगायतका क्षेत्रमा भू–प्राविधिक विज्ञको सुझावअनुसार डिजाइन तयार गरी काम अघि बढाइएको उहाँको भनाइ छ। सडक विभागले आवश्यक स्थानमा ब्लास्टिङलगायतका कामसमेत समानान्तर रूपमा अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो।
जहाँ विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ, त्यहाँ पुललगायतका संरचनाको पुनर्निर्माणलाई डिजाइन–एन्ड–बिल्ड मोडलमार्फत अघि बढाउने तयारी रहेको मन्त्री लम्सालले बताउनुभयो। सरकारले आवश्यक स्रोत व्यवस्थापन गरेर पुनर्निर्माणको काम नरोकिने नीति लिएको उहाँको भनाइ छ।
खानेपानी पूर्वाधारलाई पनि अत्यावश्यक सेवाका रूपमा प्राथमिकतामा राखिएको मन्त्री लम्सालले बताउनुभयो। तत्कालका लागि वैकल्पिक स्रोतबाट पानी वितरण भइरहेको र दीर्घकालीन समाधानका लागि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै आवश्यक वैकल्पिक व्यवस्था गरिने उहाँले जानकारी दिनुभयो।
मन्त्री लम्सालले पुनर्निर्माणसँगै भविष्यमा हुने विपद्बाट क्षति न्यूनीकरण र पूर्वतयारीलाई समेत प्राथमिकतामा राखेर सरकारले काम अघि बढाइरहेको बताउनुभयो।
प्रकाशित मिति: २०२६-०९-२२ , समय : ०९:४९:१६ , १ घन्टा अगाडि