रुपन्देही खबर , ३२२ पटक हेरिएको
भैरहवा, जेठ ०९
ओमसतिया गाउँपालिकाले गाउँपालिका अन्तर्गतका उद्योगमा गरेको अनुगमनमा अधिकांश उद्योगहरु पालिकामा दर्ता नभएको बताएको छ । वडा नम्बर १ बाट सुरु गरेको अनुगमनलाई निरन्तरता दिदै गाउँपालिकाले सोमबार वडा नम्बर ३ मा रहेका बिभिन्न उद्योग एवम ब्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको थियो ।
पालिकामा रहेको मनकामना ईट्टा उद्योग, आर्यन ईट्टा उद्योग, बुटवल ग्यास प्राली, एलिको रसायन ट्रेडर्स, मेगा केमिकल ईण्डष्ट्रिज, मेगा केभिको प्याकेजिङ्ग ईण्डष्ट्रिज लगायतको गाउँपालिकाको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा एलिको रसायन ट्रेडर्स, मेगा केमिकल ईण्डष्ट्रिज, मेगा केभिको प्याकेजिङ्ग ईण्डष्ट्रिज बाहेक अन्य उद्योगहरु गाउँपालिकामा दर्ता नरहेको अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बताईन । “अन्य निकायहरुमा दर्ता रहेको देखिन्छ, तर जहा उद्योग सञ्चालनमा रहेको छ त्यहा नै दर्ता नहुनु कानुन विपरीत हो ।” उनले भनिन “पहिलो पटकलाई दर्ता गर्ने नसिहत सहित छोडेका छौं, अब कार्यवाहीको प्रक्रियामा लाग्ने छौं ।”
ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादवले गाउँपालिकामा सञ्चालित ब्यवसायहरुले मापदण्ड पुरा गरे÷नगरेको, दर्ता भए÷नभएको, गुणस्तर, मूल्यसूचि लगायतको बिषयमा अनुगमन गरिएको बताए । यादवका अनुसार यसलाई अब निरन्तर रुपमा कडाईका साथ अगाडी बढाईने छ । उनले गाउँपालिका अन्र्तगतका सबै उद्योग, ब्यवसायीक संस्थान लगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुने आग्रह गरे । “ठूला साना जुनसुकै उद्योग भए पनि पालिकामा दर्ता हुन अनिवार्य रहेको छ ।” यादवले भने “यो करको लागि नभई उद्योगहरुको सामाजिक उत्तरदायित्व पनि हो ।”
स्थानियवासी, वातावरण लगायतमा प्रभाव पार्ने उद्योगहरुले स्थानिय सरकारलाई प्राथमिकता दिन उनले आग्रह गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्रीले पालिकामा सबै ब्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । पालिका स्तरमा अनुगमनको जिम्मा उपाध्यक्षलाई रहेको छ । संयोजकको नेतृत्वमा सरोकारवालालाई साथ लिई अनुगमन सुरु गरिएकोले सबैलाई सहयोग गर्न उनले आग्रह गरे । अधिकार खोज्ने नागरिकलाई करको दायित्व पनि निर्वाह गर्नु पर्ने क्षेत्रीको भनाई थियो ।
अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह, संघ संस्था तथा राजस्व शाखाकी अमृता पाण्डे लगायत सुरक्षाकर्मि एवम पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको थियो ।
प्रकाशित मिति: २०२३-०५-२३ , समय : १०:२२:४३ , १ वर्ष अगाडि