रुपन्देही खबर , २७८ पटक हेरिएको
काठमाडौं ,जेठ १३
शुक्रबार बेलुका ६ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस नियमित हुन नसकेकाले आज अपराह्न ४ बजेको लागि तय गरिएको हो ।
एमालेको अवरोधका कारण शुक्रबार २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि बस्दै नबसी आजका लागि सरेको हो । सभामुख देवराज घिमिरेको कार्यकक्षमा औपचारिक रुपमै तीनवटा सर्वदलीय बैठक बसे पनि पशुपतिनाथको मन्दिरमा राखेको जलहरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा निचोड निस्कन सकेको छैन ।
नेताहरुका अनुसार एमालेले पशुपतिनाथको जलहरीमा सुनको सट्टा एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तल हालेको भन्ने माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने एकसूत्रीय अडान राखेको छ । माओवादी केन्द्रले माफी नमाग्ने बरु यस विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ ।
एमालेको अवरोधका कारण बैठक कार्य सूचीमा प्रवेश नै नगरी पौने १ बजे स्थगित भएको थियो । त्यसपछि पनि संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक स्थगित भएको जानकारी दिएका थिए । आजको बैठकमा नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने तयारी छ ।
प्रकाशित मिति: २०२३-०५-२७ , समय : १२:४४:२१ , २ वर्ष अगाडि