रूपन्देहीको भलबारीस्थित आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी

धर्मेन्द्र कुमार कुर्मी , २८१  पटक हेरिएको

भैरहवा, जेठ १३

रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो।ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।

प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन्।

प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिनु भयो ।

सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए।

प्रकाशित मिति: २०२२-०५-२७ , समय : १३:३६:३१ , २ वर्ष अगाडि