भैरहवामा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही खबर , १२२  पटक हेरिएको

भैरहवा, जेठ २०

भैरहवामा बिहीबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ हनुमान मन्दिरस्थित भित्री सडकखण्डमा मिलनचोकबाट गौतमबुद्ध विमानस्थलतर्फ जाँदै गरेको पीकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकाअनुसार विमानस्थलतर्फ जाँदै गरेको भे १ च ३२९० नम्बरको पीकअपले विपरित दिशाबाट आउँदै गरेको लु १३ प ९२४६ नम्बरको मोटरसाइकललाई राति करिब ११ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय धिरजसिंह राजपुतको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । 

दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका राजपुतलाई अस्पताल पुर्याएको केहीबेरमै मेडिकल कलेजले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा प्रहरी निरीक्षक साकार राज पन्तले जानकारी दिनु भएको छ। दुर्घटनापछि सवारी चालक र पीकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नियन्त्रणमा लिएको छ । 

 

प्रकाशित मिति: २०२३-०६-०३ , समय : ०७:४६:३५ , १ वर्ष अगाडि