rupandehi khabar , ३८० पटक हेरिएको
भैरहवा , जेठ २४
महिलाहरुले नेतृत्व गर्दै आएका हरेक स्थानिय तहमा कामहरु पारदर्शी भएको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । स्थानिय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मध्ये महिलाहरुले जिम्मेवारी पाएका कामहरु पुरुष भन्दा बढी महिलाले गरेका कामहरु पारदर्शी भएको बताएका हुन । संचारिका समुह नेपाल रुपन्दहीले मंगलबार बुटवलमा आयोजना गरेको स्थानिय तहका उपप्रमुख , उपाध्यक्ष र पत्रकार महिला बिच अन्तरसंवाद कार्यक्रम्मा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन । उनीहरुले स्थानीय तहमा आफुहरुले महत्वपुर्ण जिम्मेवारी निर्वाह गरे पनि मिडियामा उल्लेख्य रुपमा प्रचार हुन नसकेको गुनासो समेत गरेका छन । अन्तरसंवाद कार्यक्रममा उपप्रमुखहरुले नगरलाई समृद्ध बनाउन सबै जनप्रतिनिधिको भूमिका महत्वपुर्ण भएपनि बाहिर नाम प्रमुखको मात्रै आउने गरेको बताएका छन ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले एक वर्षे कार्यकालमा बुटवलमा पूर्वाधार निर्माण र सामाजिक विकासका धेरै काम भएको उल्लेख गर्नुभयो। उपप्रमुखको नेतृत्वमा योजना छनौट गर्नेदेखि, बजेट निर्माण, अनुगमन, न्यायिक समिति लगायत धेरै क्षेत्रमा काम भएको बताउनुभयो ।
उहाँले एक वर्षको अवधिमा न्यायिक समितिमा ७२ वटा उजुरी परेको र त्यसमध्ये ४७ मेलमिलाप गरिएको जानकारी दिनुभयो । २१ वटा मुद्धा प्रक्रियामा रहेको उहाँको भनाइ छ । उपप्रमुख अर्यालले मिडियामा पूर्वाधार निर्माणका समाचार धेरे आउने गरेको जनाउँदै सामाजिक विकास र मानवीय विकासका सवालले उपप्रमुखले गरेका कामलाई पनि मिडियामा स्थान दिन आग्रह गर्नुभयो । उहाँले पत्रकार महिलाको क्षमता विकासका लागि उपमहानगरले सहयोग गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जगेश्वरदेवी चौधरीले चुनौतिका बाबजुद पनि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको बताउनुभयो । “समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ, नेतृत्व स्विकार गर्न समस्या छ । यस्तो अवस्थामा हाम्रो आवाज बुलन्द गर्दै अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो ।
उहाँले दिनरात नभनी नगर समृद्ध बनाउन खटिएको जनाउँदै दुई पटक सम्म तिलोत्तमा उत्कृष्ट भएको बताउनुभयो । “सबै जनप्रतिनिधी र कर्मचारीको अथक प्रयासले नगर उत्कृष्ट भएको हो तर नाम आउँदा मेयरको मात्रै आउँछ”, उहाँले भन्नुभयो, “मिडियाले यसरी बायस गर्नुहुँदैन ।” उहाँले बजारमा प्रतिष्पर्धा गर्ने जनशक्ति तयार गर्न विभिन्न सिपमूलक कार्यक्रममा जोड दिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख बिद्यालक्ष्मी गुरुङले जनतासँग नजिक रहेर काम गर्नुपर्दा विभिन्न चूनौती झोल्नुपरेपनि जिम्मेवारी पूरा गरेको बताउनुभयो ।“पहिलो कार्यकाल सिक्ने अवसर पाएँ, धेरै कुराको अनुभव भयो, अहिले पारदर्शी ढंगले काम गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले जनताका काममा प्रतिवद्ध भएर लागेकै कारण दास्रोपटक निर्वाचित हुने मौका पाएको बताउँदै लैङ्गिक समानता र सशक्तीकरणलाई प्राथमिकता दिएको जानकारी गराउनुभयो । उहाँले उपप्रमुखले गरेको कामलाई मिडियामा उचित स्थान दिन आग्रह गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले उपप्रमुखका काम धेरै भएपनि प्रचार कम भएको गुनासो गर्नुभयो । पुरुषवादी सोंच र चिन्तनका कारण महिला अघि बढ्न समस्या परेको उहाँको भनाइ छ । “हामी राज्यसँग अस्तित्वका लागि लडिरहेका छौँ, हाम्रो अधिकार र मुद्धा स्थापित गर्न यो लडाइँ जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले पत्रकार महिलालाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभयो ।
गैडहवा गाउँपालिकाका उपाध्यक्ष माधुरी जैसवालले अवसर पाए महिलाले पनि गर्न सक्छन् भन्ने देखाउन प्रतिबद्ध भएर जनताको सेवामा लागेको बताउनुभयो । उहाँले आगामी दिनमा पत्रकार महिलाहरूलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले जनप्रतिनिधिहरू मिडियामैत्री बन्नुपर्ने बताउनुभयो । “जनप्रतिनिधी मिडिया र मिडियाले गरेका कार्यक्रममा समेत आउन रुचि राख्नुुहुन्न यसलै उहाँहरुलाई नै घाटा हुन्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । उहाँले अबको निर्वाचनमा उपप्रमुख महिलाहरु प्रमुखको रुपमा देख्न चाहेको जनाउँदै सोही अनुसार काम गर्न सुझाव दिनुभयो । कार्यक्रममा सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोलले आफुहरुले गरेका कामको प्रचारका लागि पत्रकारसँग समन्वय गर्न आग्रह गर्नुभयो ।
अर्का सल्लाहकार इन्दिरा अर्यालले न्यायपूर्ण समाज स्थापना गर्ने सबैको लक्ष्य भएकाले सहकार्यमा काम गर्नुपर्ने धारणा राख्नुभयो । सल्लाहकार रेखा भुसालले स्थानीय तहलाई बलियो बनाउन प्रमुख र उपप्रमुखको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरा गौतम निरु ले समानता र समावेशीताका मुद्धामा पत्रकार महिलाको कलम बढि चल्ने भएकाले समन्व बढाउन उपप्रमुख तथा उपाध्यक्षहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा क्रियाशील पत्रकार महिला अध्यक्ष कल्पना तिवारी, सञ्चारिका समूह रुपन्देहीका उपाध्यक्ष मिना ढकाल, महासचिव अस्मिना पाण्डे लगायतले उपप्रमुखको काम र जिम्मेवारी धेरै भएपनि पत्रकारसँग समन्वय नहुँदा प्रचार हुन नसकेको धारणा राख्नुभयो ।
प्रकाशित मिति: २०२३-०६-०७ , समय : १४:५१:०९ , १ वर्ष अगाडि