स्थानिय तहले सुशासनको अनुभुती दिलाउन नसकेको बक्ताहरुको गुनासो

उर्मिला यादव यात्री , ४३४  पटक हेरिएको

भैरहवा, असार ३

सुशासनको पालनामा प्रभावकारी काम हुन नसकेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवल र लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालय राप्ती उपत्यकाको सहयोगमा रुपन्देहीको भैरहवामा आज आयोजित सुशासनका लागी साक्षरता कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानिय तहले सुशासनको अनुभुती दिलाउन नसकेको गुनासो गरेका छन । कतिपय स्थानिय तहमा सुशासनका धेरै समस्या रहेकोले यसको अभिबृद्धि गर्नुपर्ने बताउदै सुशासन महसुुस हुने गरी कामहरु नभएको सहभागीहरुको भनाई छ । केही स्थानिय तहमा अझै पनि सुशासनको सवालमा शुन्यबाट काम गर्नुपर्ने अवस्था रहेको उनीहरुले बताएका छन ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले जिल्ला समन्वय समितीले पूर्ण अधिकार नपाएकोले काम गर्न कठिनाइ भएको बताउनु भएको छ । उहाले जिल्ला समन्वय समितीलाई अधिकार दिन नसकेको खण्डमा संघिय मामिला र प्रदेशमा खारेज गर्न माग गरेको बताउनु भएको छ । उहाले जिल्ला समन्वय समितीले घुम्ती बैठक मार्फत स्थानिय तहको समस्या समाधान गर्दै आएको बताउनु भएको छ । उहाले स्थानिय तहमा जनप्रतिनिधी र कर्मचारी बिच समन्वय नहुदा काम गर्न धेरै समस्या भएको गुनासो गर्नु भएको छ ।
यस्तै गरी रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनतालाई सुशासनको अनुभुती दिन सकिन्छ भन्ने बिषयमा गहन छलफल आवश्यक भएको बताउनु भएको छ । उहाले कानुन सबैले पूर्ण रुपमा पालना गरे सुशासन कायम हुने बताउनु भयो । उहाले भन्नु भयो हामीसँग कानून छ तर कार्यान्वयन फितलो छ । त्यसैले सेवाग्राहीलाई सर्भिस डेलिभरीमा सहजता, जनताप्रति जवाफदेही हुन सके र जनताको गुनासोलाई सहि ढंगले सम्बोधन गर्न सके मात्र सुशासनको प्रत्याभुति गर्न सकिने बताउनु भयो । यसको लागी नेतृत्वबाटै सुरुवात गर्नुपर्ने बताउनु भयो । उहाले जिल्लामा चोरी निकासी रोकथामका लागी सुरक्षा व्यवस्था कडा पारिएको बताउदै नीति क्षेत्रलाई चलायमान गराउन सीमा क्षेत्रमा सुरक्षा दस्तालाई परिचालन गरिएको बताउनु भएको छ । उहाले यसमा सबैको सहयोग भए मात्र भन्सारमा पनि सुशासन कायम गर्न सकिने बताउनु भयो । उहाले खुल्ला सिमा नाका भएका कारण सोचे अनुसार चोरी निकासीमा नियन्त्रण गर्न नसके पनि नियमअनुसार नै सीमा क्षेत्रमा कडाइ गरिएको बताउनु भएको छ ।
उहाले स्थानिय बजारमा कहीकतै बढी मूल्यमा सामान विक्री बितरण भए सूचना दिन आग्रह गर्नु भएको छ भने कालोबजारी गर्ने ब्यापारीहरुलाई कानुन बमोजिम कारवाही गर्ने बताउनु भयो ।

यस्तै गरी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले अबको नीति तथा कार्यक्रममा थप ३ वटा भाषा मगर, नेवारी र थारु जातिको भाषा नागरिक वडापत्र राख्ने बताउनु भयो । उहाले सुझाव पेटीका समेत राखेको बताउनु भएको छ । उहाले जनताको स्वास्थ्यसित सिधै सम्पर्क हुने खाद्यन्नहरुमा कडाईका साथ अनुगमन गर्दै आएको बताउनु भयो । उहाले आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई कुनै समस्या झेल्न नपरेको र समस्या परे आफै सम्बन्धित शाखामा पुगेर सेवाग्राहीको काम सहजताका साथ सम्पन्न गर्दै आएको बताउनु भएको छ । उहाले बुटवलको बाटोमा रहेका गाई ब्यवस्थापन गर्न नसक्दा दुख लागेको बताउनु भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नगरपालिकामा रहेको छाडा पशु चौपायाको ब्यवस्थापन गरिसकेको बताउनु भएको छ । उहाले नगरलाई स्वच्छ र सफा शहरको रुपमा परिचय दिने गरी काम गर्दै आएको बताउनु भयो । उहाले नगरपालिकामा आर्थिक प्रशासनलाई पारदर्शी बनाएर काम गर्दै आएको जोड दिनु भयो ।

यस्तै गरी रोहिणी गाउपालिका अध्यक्ष बिद्या प्रसाद यादवले निर्वाचनको समयमा बाचा गरेको कामहरुलाई प्राथमिकताका साथ अगाडी बढाएको बताउनु भएको छ । उहाले रोहिणीमा प्रशासनिक भवन, १५ शैयाको अस्पताल र क्याम्पसको ब्यवस्थापनका लागी आफु लागि परेको बताउनु भयो । उहाले स्थानिय सरकारको प्रत्याभुति हुने गरी जनताको लागी काम गर्दै आएको बताउनु भएको छ । उहाले स्थानिय सरकार घरघरमा आइपुग्दा पनि कृषकहरुलाई समयमै मलखाद दिन नसक्दा दुख लागेको बताउदै यसमा सबै पक्षले मिलेर काम गर्न आग्रह गर्नु भएको छ । उहाले जनताको गुनासोलाई सुझावको रुपमा लिदै आएको बताउनु भयो ।


कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाई, बिबिसी रुपन्देही संवाददाता माधव नेपाल, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, बुटवल उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य टिकाराम बञ्जाडे, भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, माइती नेपाल रुपन्देहीका माया क्षेत्री, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर वि.क, श्री गरुडदल गण रामनगर व्यारेकका ओम बहादुर अधिकारी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुशासन अभियन्ता महेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने पत्रकार नारायण वलीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२३-०६-१८ , समय : २१:१५:५३ , २ वर्ष अगाडि