रुपन्देहीमा नक्कली नोटसहित दुई जना पक्राउ

रुपन्देही खबर , ९३९  पटक हेरिएको

बुटवल, साउन २३

रुपन्देहीमा नक्कली नोट सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ११ बस्ने प्रबिन महत र सोही उपमहानगरपालिका ९ बस्ने साहिल थापा मगर रहेका छन । दुबै जनाको साथबाट १ हजार दरको १ थान सक्कली र ४४ थान नक्कली नेपाली नोटसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सैनामैना नगरपालिका १ रानिबगियामा लु.१४ प २०९० नम्बरको मोटरसाइकल र लु.९२ प २८०१ नम्बरको स्कुटर एक आपसमा ठोक्किदा दुर्घटना भएको विषयमा मोटरसाइकल तथा स्कुटरमा सवार ४ जना व्यक्तिहरु ईलाका प्रहरी कार्यालय रन्यौरामा छलफलको क्रममा मोटरसाइकलमा सवार प्रबिन र साहिललाई शंका लागि तलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको हो । यस बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-०८ , समय : २१:२५:२१ , ८ महिना अगाडि