रुपन्देही खबर , ४०१ पटक हेरिएको

भैरहवा, साउन २७
लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद बैठकमा प्रस्ताव पेश गर्ने निर्णयले सबैलाई सशंकित बनाएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले जनाएको छ । कोषका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्य सचिव र योजना प्रमुखको उपस्थितिमा शुक्रबार भएको बैठकले गरेको उक्त निर्णय प्रति संघको ध्यानाकृष्ट भएको छ ।
शनिवार संघले एक प्रेस बिज्ञप्ती जारी गर्दै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले लुम्बिनीलाई अन्यौलमा पार्ने हो कि आफुहरुको ठम्याई रहेको बताउदै यो निर्णय नसच्याए सरोकारवालाहरु विरोधमा उत्रन बाध्य हुने बताएको छ । साथै बुद्ध जन्मस्थल लुम्बिनी र वरपरका बौद्ध सम्पदाको विकास, प्रवद्र्धन, संरक्षण एवं प्रचार प्रसारमा दुरगामी प्रभाव पार्ने कुनै किसिमका नकारात्मक निर्णयहरु नलिन समेत सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले लुम्बिनी विकास कोष संग माग गरेको छ ।
काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी विगतमा पनि लुम्बिनीलाई ओझेलमा पार्ने प्रयास नभएको होइन, अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनु भयो । उहाले ‘लुम्बिनीको विकास र हित चाहने हो भने लुम्बिनीलेखि बाहिर अन्यत्र कुनै स्थानमा लुम्बिनीको नाममा सम्पर्क कार्यालय वा कुनै नामका कार्यालय खोलिनु हुँदैन यसमा हाम्रो गम्भिर विमत्ति रहेको छ र यो निर्णयलाई तत्काल सच्याउन आफुहरुले माग गरेको बताउनु भयो ।
उहाले सिद्धार्थ उद्योग वाणिज्य संघ लुम्बिनीको प्रवद्र्धन, सम्बद्र्धन, संरक्षण एवं प्रचार प्रसारका लागि लुम्बिनी विकास कोष संग बिगतमा जस्तै सहकार्य गरी अघि बढ्न तयार रहेको जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०८-१२ , समय : १९:१७:२९ , २ वर्ष अगाडि