रुपन्देहीमा मिडिया सम्मेलन हुँदै

रुपन्देही खबर , २२६  पटक हेरिएको

रुपन्देही, साउन ३२

रुपन्देहीमा मिडिया सम्मेलन २०८० हुने भएको छ । लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यवसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको आयोजकले जनाएका छन ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी, नेपालको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरु सहभागी हुने गरी भदौ १ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो ।

प्रकाशन तथा प्रसारण संघले यसरी मिडिया सम्मेलन गर्न लागेको यो पहिलो हो । सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने प्रकाशन तथा प्रसारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुँवरले बताउनु भएको छ । उहाका अनुसार सम्मेलनमा छापा माध्यम, विद्युतीय तथा अनलाइन प्रकाशन तथा प्रसारण संस्थाहरुबाट करिब १२५ जना सञ्चालक तथा प्रकाशकहरुको सहभागीता रहनेछ ।

सम्मेलनमा सञ्चार माध्यमको हकहितका साथै वृत्ति विकास र पेशागत सुरक्षाको बारेमा पनि छलफल हुने संघका उपाध्यक्ष विष्णु भुसालले बताउनु भएको छ ।

सम्मेलनमा वरिष्ठ पत्रकार युवराज घिमिरेले सम्पादकीय सन्दर्भमा तथा हिमाल खबर पत्रिकाका प्रकाशक कनकमणि दीक्षितले मिडिया व्यवस्थापनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने संघका सचिव माधव नेपालले जानकारी गराउनु भएको छ ।

तिलोत्तमा नगरपालिकाको योगीकुटीस्थित होटल पौवामा आयोजना गरिने मिडिया सम्मेलनको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीकुमार चौधरीले उद्घाटन गर्नेछन भने प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयलाई विशिष्ट अतिथिको रुपमा आमन्त्रित गरिएको छ ।
उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको संघका सदस्य गौतम भुसालले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२३-०८-१७ , समय : १४:०३:२७ , ८ महिना अगाडि