रुपन्देही खबर , २२८ पटक हेरिएको
बुटवल,भदौ २
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्न आग्रह गर्नु भएको छ ।उहाले सरकारको गल्तीमा आलोचना गरेर लेख्न आग्रह गर्दै सही मार्गदर्शनमा हिड्नका लागि सहयोग गर्न आग्रह गर्नु भयो । बुटवलमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सफल बनाउने उल्लेख गर्नु भयो ।
राजनीतिक परिवर्तनमा मिडियाको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने मुख्यमन्त्री चौधरीको भनाइ छ ।
‘मिडिया कमजोर हुँदा सरकार पनि कमजोर हुन्छ, तसर्थ मिडियाहरु बलियो हुनुपर्छ भन्ने प्रदेश सरकारको मान्यता छ मुख्यमन्त्री चौधरीले भन्नु भयो । ‘मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन, आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।’
त्यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार र सञ्चारगृहलाई पत्रकारिताकाे आचारसंहिता पालना गर्न आग्रह गर्नु भएको छ । उहाँले मिडिया संकटमा पर्नुमा सरकार मात्रै नभएर ओरालाे लागेकाे अर्थतन्त्र र मिडिया सञ्चालक आफै पनि त्यसकाे दाेषि रहेकाे बताउनु भयो ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले पत्रकारितामा श्राेतकाे विश्वसनीयता, उसकाे समर्पण र कार्यक्षमतालाई फराकिलाे बनाउनु पर्ने बताउनु भयाे । त्यस्तै अर्का वरिष्ठ पत्रकार कनकमणी दिक्षितले पत्रकारिता अफ्ठ्याराेमा पर्दा व्यापारिक या शक्तिराष्ट्रहरुकाे प्रभाव पर्ने बताउँदै त्यसबाट जाेगाउन सकिएन भने पत्रकारिताकाे मर्म पनि मरेर जाने बताउनु भएको छ ।
सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा सञ्चार क्षेत्रकाे विकासमा योगदान गर्नुभएको बुटवलका अग्रज पत्रकार मित्रबहादुर शाक्य, कर्णबहादुर कार्की तथा दाङका नारायण शर्मालाई सम्मान गरिएकाे थियाे ।
सम्मेलनले मोफसलका मिडियाहरुको सबलिकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायतका विषयमा बसन्तपुरमा घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२३-०८-१९ , समय : ०८:०५:३० , १ वर्ष अगाडि