रुपन्देही खबर , ३८ पटक हेरिएको
लुम्बिनी, असोज २३
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ मा महिलालाई सीपमूलक बनाउँदै आत्मनिर्भर र स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सिलाइकटाइ तालिम सुरु भएको छ। ह्युमन एड फर रिलिफ एन्ड सपोर्टको आयोजनामा तथा लुम्बिनी सांस्कृतिक नगरपालिका–३ को सहयोगमा सञ्चालन गरिएको तालिममा २० जना महिलाको सहभागिता रहेको छ। आजदेखि सुरु भएको तालिम आगामी पुस २३ गतेसम्म सञ्चालन हुनेछ।
वडा कार्यालयमा आयोजित तालिम उद्घाटन कार्यक्रम वडा सदस्य रामप्रसाद कुर्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सचिव राजेन्द्रप्रसाद यादवसहित स्थानीय प्रतिनिधि तथा तालिमका सहभागी महिलाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले महिलालाई सीपमूलक तालिम प्रदान गर्नु उनीहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण आधार भएको बताउनुभयो। महिलालाई सीप र अवसर प्रदान गर्न सके उनीहरूले आफ्नै खुट्टामा उभिएर परिवारको आर्थिक अवस्था सुधार गर्न सक्ने उहाँको भनाइ थियो। उहाँले महिलालाई केवल तालिममा सहभागी गराउनु मात्र पर्याप्त नहुने भन्दै सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सिलाइकटाइ जस्तो व्यावहारिक सीपले महिलालाई घरमै बसेर पनि काम गर्ने, आम्दानी गर्ने तथा आफ्नो परिवारलाई आर्थिक रूपमा सहयोग पुर्याउने अवसर प्रदान गर्न सक्ने उहाँले बताउनुभयो।
त्यस्तै, कार्यक्रममा बोल्दै वडा सचिव राजेन्द्रप्रसाद यादवले महिलालाई सीपमूलक तालिम प्रदान गर्नु उनीहरूलाई आत्मनिर्भर बनाउने महत्वपूर्ण आधार भएको बताउनुभयो। सीपको अभावमा रोजगारी तथा आयआर्जनका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई यस्ता तालिमले कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
यादवले सिलाइकटाइको सीप सिकेपछि महिलाले अरूको भर पर्नुपर्ने अवस्था कम गर्दै आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न सके महिलाले घरपरिवारको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै समाजमा आफ्नो पहिचान स्थापित गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो।
तीन महिनासम्म सञ्चालन हुने तालिमले सहभागी महिलालाई सिलाइकटाइसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखिएको छ। तालिमपछि सहभागी महिलालाई सिलाइ मेसिन उपलब्ध गराउने प्रतिबद्धतासमेत वडाले व्यक्त गरेको छ।
सिलाइ मेसिन उपलब्ध भएपछि महिलालाई तालिममा सिकेको सीप प्रयोग गरी कपडा सिलाउने काम सुरु गर्न तथा स्वरोजगार बन्न सहज हुने सहभागीहरुले बताएका छन । । तालिमसँगै आवश्यक साधन उपलब्ध गराउने प्रतिबद्धताले महिलालाई सीप सिकेर मात्रै सीमित नराखी त्यसलाई आयआर्जनसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: २०२६-१०-०९ , समय : २१:२२:३७ , १ घन्टा अगाडि