भारतीय नागरिकको चलखेल, नेपालको नागरिकता बनाएपछि जग्गा हडप्ने दाउ

रुपन्देही खबर , ३४८  पटक हेरिएको

भैरहवा, कार्तिक ३

भारतीय नागरिकहरुले रुपन्देही जिल्लाबाट नेपाली नागरिकता बनाएर मायादेवी गाउँपालिका वडा नं ८ मा रहेको ब्यक्तिगत जग्गा हडप्न अनेकौँ चलखेल गरेको पाइएको छ । भारतीय नागरिक, भारतको मध्य प्रदेश जिल्ला अनुपपुर माइन्स वस्ती विजुरी कोलोनी बसोबास गर्ने धिरेन्द्रप्रसाद चौधरी र बिरेन्द्र चौधरीले नेपालको समेत नागरिकता बनाएर जग्गा हडप्न पीडितहरुलाई डर धम्की दिँदै ज्यान मार्नेसम्मको चेतावनी दिँदै आएको पीडित पुनी थरुनी बताउँछिन् ।

मायादेवी गाउँपालिका वडा नं ८ घर भएका छेदी प्रसाद चौधरीको छोरा, तिरथ प्रसाद चौधरीले भारतीय नागरिक द्धय भारतमै बस्दै आएका भारतीय नागरिक धिरेन्द्रप्रसाद चौधरी, बिरेन्द्रप्रसाद चौधरी भन्ने ब्यक्तिलाई आफ्नो छोरा हुन् भनी झुठो विवरण पेश गरी नागरिकता बनाई पुनी थरुनीको नाममा रहेको ४ कठ्ठा १६ धुर जग्गा हडप्नका लागि अनेकौँ प्रपञ्च गरेको पीडित पुनी थरुनीले गुनासो गरेकी छिन् । मालपोत कार्यालय रुपन्देहीमा ३ क १४७८ कित्तामा जम्मा ४ कठ्ठा १६ धुर जग्गा पुनी थरुनी, उनका छोरा घरचेतन चौधरी, चुल्हाईप्रसाद चौधरीको नाममा दर्ता रहेको जग्गा भारतीय नागरिकद्धय धिरेन्द्रप्रसाद चौधरी र बिरेन्द्रप्रसाद चौधरीले नेपालमा आई नक्कली कागज पत्र बनाई जग्गा हडप्नका लागि जग्गा रोक्का गरीदिएको पीडित थरुनी बताउँछिन् । त्यसैगरी पौने ३ कठ्ठा जग्गा चिन्की थारुको नाममा रहेको जग्गामा समेत दाबी गर्दै रोक्का गरिदिएको पुनी थरुनीका छोरा बहादुर चौधरीकि श्रीमति चिन्की थारु बताउँछिन् । सबैलाई दबाब र प्रलोभनमा पारी जग्गा हडप्न अनेकौँ प्रपञ्च निकाली उनिहरु सक्रिय रहेको उनिहरु हामीसंग ठुला मान्छेसंग उठ बस छ भन्दै धम्क्याउने, तर्साउने र ज्यान मार्नेसम्मको धम्की दिने गरेको पिडीत चुल्हाई प्रसाद चौधरी बताउँछन् ।

झुठ्ठो विवरण पेश गरी लिएको नागरिकता रद्द गरी कानुन बमोजिम दण्ड सजाय गरी पाउँ भनी पुनी थरुनीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निबेदन समेत दिएको बताइन् । मायादेवी गाउँपालिका वडा नं ८ स्थायी घर भएका छेदी प्रसाद चौधरीको छोरा तिरथप्रसाद चौधरीले भारतीय नागरिक द्धय धिरेन्द्र प्रसाद र बिरेन्द्र प्रसाद भन्ने ब्यक्तिलाई आफ्नो छोरा हुन् भनी झुठ्ठो व्यहोरा पेश गरी, सनाखत समेत गरी ०६५ असार २६ गते रुपन्देही जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई गुमराहमा पारी वंशजको नाताले मिति २०६५ असार २६ गते ना.प्र.नं. ३७।०७१।५।८८०६ को नागरिकता प्राप्त गरी लिएका र यसैगरी विरेन्द्र चौधरीले रुपन्देही जिल्लाबाट ०६५ साल असार २६ गते ना.प्र.नं. ३७१०७१।८८०५ मा नेपाली नागरिकता लिई मेरो गाउँ घरमा आई मैले कर्मचारीलाई मिलाई नागरिकता लिएँ अब तिम्रो सम्पत्ति लिनका लागि मुद्दा गरौँला भनी धम्क्याउने गरेको पिडीत थरुनी बताउँछिन् ।

भारतको मध्य प्रदेशमा बस्ने भारतीय आधार कार्ड, निर्वाचन कार्ड समेत भएका ब्यक्तिले नेपाली नागरिकता समेत प्राप्त गरेकाले उनिहरुलाई तत्काल पक्राउ गरी नागरिकता दिलाउने कार्यमा संलग्न रहेका ब्यक्तिहरुलाई कानुन बमोजिम कारबाही गरी उनिहरुले लिएको नागरिकता बदर गरी हदैसम्मको सजाय गर्नका लागि पिडीत थरुनीले सरोकारवाला सबैमा आग्रह गरेकी छिन् ।
यता पिडीत पुनी थारुको छोराहरु बहादुर चौधरी, घरचेतन चौधरी, चुल्हाई चौधरी रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं ८ मा बस्दै आएका छन् । उनिहरुलाई धिरेन्द्र र बिरेन्द्र चौधरीले बेला बखत हामी ठूला पहूँच भएका मान्छेसंग हिंड्ने मान्छे हो भन्दै तर्साउने र कुनै अबरोध बाधा ब्यवधान सिर्जना गरेमा जस्तो सुकै घटना हुन सक्ने चेतावनी दिँदै आएको पिडीत पुनी थारुको परिवार बताउँछ ।

प्रकाशित मिति: २०२३-१०-२० , समय : ०९:३९:४८ , १ वर्ष अगाडि