सूर्यको उपासना गरी मनाइने छठ पर्वको तयारी पूरा

आज पहिलो दिन नहाय खाय गरी मनाइदै

रुपन्देही खबर , २२७  पटक हेरिएको

भैरहवा, मंसिर १

सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत रुपमा सुरु भए संगै रुपन्देहीको भैरहवा,ओमसतिया, रोहिणि गाउपालिका लगायत तराईको जिल्लामा यसको तयारी पूरा भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् ।

पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि (शनिबार) ब्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् । त्यसलाई खरना भन्दछन् ।

तेस्रो दिन आइतबार छठ पर्वको मुख्य दिन हो । सो दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ । चौथा दिने (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व विधिवत समापन हुन्छ । छठको मुख्य दिन सरकारले सार्वजनिक विदासमेत दिएको छ ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अघ्र्यको रुपमा चढाउने गरिन्छ ।

दोश्रो दिन ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् । छठ पर्वमा सूर्यलाई दोश्रो दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

तराई मधेशपासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा व्यस्त छन् । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरु सफा गरेर सजाइएको छ । खासगरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ओमसतिया गाउपालिका , रोहिणि गाउपालिका,नवलपरासी ,लगायत जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ लगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाइएको छ ।

अहिले गाउँघर, सहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वका सुमधुर गीत र भजनले तराईका जिल्लाहरु नै छठमय बनेको छ ।

छठ पर्वलाई सामाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

प्रकाशित मिति: २०२३-११-१७ , समय : १६:४५:१२ , ६ महिना अगाडि