छोरा गुमाउनुको पिडा

रुपन्देही खबर , ५१८  पटक हेरिएको

भैरहवा, मंसिर ९

शुद्धोधन गाउँपालिका, वडा नं. ७, खुनगाउँ, रुपन्देही बस्ने म सुवास यादव, मेरो छोरा विश्वास यादव संस्कार इंग्लिस बोर्डिंग स्कुल, सियारी गा.पा. वडा नं. ४, शिवपुर, रुपन्देहीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी थियो । विश्वाश ६/७ वर्षकै उमेरदेखि पढाईसंगै अतिरिक्त क्रियाकलापमा रुची राख्ने, विभिन्न विषयहरु बुझ्न खोज्ने, बुझेको विषयमा विचार राख्ने र नेतृत्वदायी भूमिका निर्वाह गर्न खाज्ने फलस्वरूप स्कुलमा विद्यार्थीहरुबाट रेडक्रसको अध्यक्षको भूमिका पनि निर्वाह गर्दै आएको थियो र मलाई भन्थ्यो “पापा मा अध्यक्ष छु, राम्रो कार्य गर्ने कोसिस गरिरहेको छु” मैले सधै स्याबासी र प्रोत्साहित गर्थे ।

मिति २०८० असोज २७ गते शनिवारको कुरा हो मेरो छोराले मलाई भन्यो कि “ पापा, मेरो स्कुलभरिमा एक जना विद्यार्थी स्कुल क्याप्टेन हुनु पर्ने भोटिंगबाट र म धेरै भोट ल्याएर स्कुल क्याप्टेन भए” मैले भने गुड बेटा, राम्रो काम गरेस, मसंग धेरै कार्यक्रमहरुमा पनि सहभागी भएर सिकेका कुरा पनि प्रयोग गरेस है, छोराले भन्यो “हस् पापा” ।

मिति २०८० असोज २८ गते, घटस्थापना/नवरात्र अराम्भको दिन स्कुलमा त्रमासिक परिक्षा चल्दै थियो, १२:०० बजे देखि संचालन हुने विज्ञान विषयको परिक्षाको दिन परिक्षाको समयमा विश्वासले परिक्षामा नक्कल गर्न खल्तीबाट चिट्ठा झिकेछ र एक जना सरले चिट्ठा र उत्तर पुस्तिका खोसेछन्, छोराले अब गर्दैन मलाई उत्तर पुस्तिका दिनुस सर लेख्नलाई भनि अनुरोध गरेछ तर त्यो अनुरोध सुनुवाई पनि भएन र एक जना महिला शिक्षकले खुसि हुँदै अन्य कक्षाकोठाहरुमा पनि गई भनिन् कि “ल तिमीहरुको क्याप्टेन चिट्ठा ल्याएको थियो” । साथै परिक्षा सकिएपछी केहि शिक्षकहरु भेला भई गालि गरे र पछी उ रुदै स्कुल गेट बाहिर गयो साईकल नलिकन गएछ । गेटमा एक जना साथिलाई अनुरोध गरी आफ्नो साईकल झिकेछ त्यतिकैमा केहि साथिहरु आएर सोधेछन विश्वाश के भएको थियो ? हाम्रो कक्षाकोठामा पनि भन्दैथिन ती मिसले भनेर जानकारी भयो ।

यति भईसकेपछी विश्वास आफ्नो साईकलमा घर आयो, घरको गेटमा पस्नसाथ मम्मिलाई भन्यो “मम्मी म एकदम गिल्टी महसुस गर्दैछु, आज चिट्ठा लागेको थिए, सरले समात्नु भयो, सबैतिर हल्ला भयो र मेरो ठुलो बेइज्जत भयो l मम्मीले सामान्य तरिकाले भनिन् “केहि हुदैन छोरा, को चिट्ठा लैजन्ना र? अब यस्तो नगर्ने है । केहि समयपछी विश्वास आफ्नो पढ्ने कोठामा गयो र मम्मीले खाजा खान वोलाइन, आयो खाजा खायो र फेरी आफ्नो पढ्ने कोठामा गयो , केहि समयपछि विश्वासको बहिनि ‘ममता यादव’ उक्त कोठामा आएर सोधी दाई के भएको थियो अनि फेरी विश्वासले भन्यो कि “ कस्तो नराम्रो भयो, मेरो बेइज्जत भयो स्कुलमा, चिट्ठा लागेको थिए अनि टिचरले बेइज्जत गर्नु भो” ममताले भनि “केहि हुदैन दाई के भो त्यति भएर अब नलाने नि” र आफु पढ्न गई ।

सांझा लगभग ०५:२९ बजे म आफु खेतबाट घर आइपुगे र घरमा प्रवेश गर्नसाथ उक्त कोठामा गए र ढोकाभित्रबाट चुक्कुल लागेको थियो , मैले बोलाए विश्वास किन ढोका बन्द गरेछस, ढोका खोल बेटा तर ढोका खुलेन अनि मैले अनुमान गरे पक्कै परिक्षा दिएर आएर थाकेर निदाईहाल्यो र मैले भने विश्वास भोलि तेरो बर्थ डे हो यार, म विहान मनाएर मात्र अफिस जान्छु तर पनि खुलेन, मम्मीले पनि
विश्वास, विश्वास भनि बोलाईन तर ढोका खुलेन र झ्यालबाट हेर्दा झुण्डिएको आवस्था थियो ।

म ढोका तोडे र म र मेरो श्रीमती पासोबाट झारिम । शरीर एकदम तातो तियो, श्वास चलेको छ भन्यो लाग्यो । म मेरो घरको गेट भन्दा बाहिर कार निकाले र तुरुन्त
हस्पिटल लगियो तर बचाउन सकिएन, हामी हाम्रो प्राण भन्दा प्यारो छोरा विश्वासलाई गुमायौ । त्यहि दिन राति लगभग ११:०० बजे इलाका प्रहरी कार्यालय, छापियबाट टोलि आउनु भयो र दुई पेज लेखिएको सुसाइट नोट
भेटाउनु भयो, जुन नोटमा लेखिएका केहि विषयहरु यस प्रकारको थियो ।

पापा, मम्मी, हजुर बुवा, ठुलो पाप, ठुली मम्मी, काका, काकी, फुफु, दिदि, बहिनि, भाई लगायत परिवारका सबै सदस्यहरुलाई सम्बोधन गरेर सबै जनाले मलाई हुर्काउनु भयो, यति माया दिनु भयो, मेरो पालनपोषण गर्नु भयो त्यसको लागि धन्यावाद र तपाईहरुले सोचेजस्तो गर्न सकिन मलाई माफ गर्नुहोला जस्ता मनको भावना उल्लेख गरी सबैसंगको माया, प्रेम दर्शाएको छ भने
छोडेर जादैछु भनि क्षमा मागेको छ ।

यसै गरी उल्लेख गरिएको थियो कि “ मेरो विद्यालयमा भेदभाव छ, Nepotism छ । म र मेरो अन्य साथिहरुले धेरै पटक यो विभेद भोगेका छौं। ” विश्वासले ३/४ जना सर/मेडम/मिसहरुको नाम उल्लेख गरी भनेको छ कि “मेरो साथमा जे गर्नु भयो त्यो कुरा अरु कोहि विद्यार्थी साथीहरुले भोग्न नपरोस भनि कामना गर्दछु , वहाँहरुले जे गर्नु भयो मेरो साथमा ठिकै छ, उहाँहरुको life राम्रो होस् म
त छोडेर जाँदैछु संसार ।” अन्त्यतिर लेखेको छ विश्वासले “मरो घरपरिवार राम्रोसंग बस्नु र मेरो Tomy (Tomy कुकुरको नाम, जुन कुकुर ४ वर्ष पहिला मैले
मेरो छोराको बर्थ डे गिफ्ट दिएको थिए) लाई राम्रोसंग हेरचाह गर्नु, समयमा खाना दिनुहोला । I am going to die.”

मेरो आफ्नो व्यक्तिगत विचार, मेरो छोरा विश्वास संसार छोडेर गयो अब फर्केर आउने छैन तर संसार छोडन बाध्य बनाउने अवस्थाको सिर्जना गर्ने कार्य स्कुलबाट भएको छ l हामि हाम्रा बालबालिकाहरुलाई उच्चा प्राथमिकताका साथ घरमा बालमैत्री वातारणमा पालनपोषण गर्दै आएका छौं l विश्वासको पढाई, व्यवहारिक ज्ञान. नेतृत्व क्षमता हाम्रो लागि अति खुसिको विषय थियो र मैले मेरो छोरालाई आफ्ना विभिन्न परियोजना विभिन्न कार्यक्रममा लैजाने, सिक्ने अवसर प्रदान गर्दै यो अवस्थामा आइपुगेको थियो, धेरैले मेरो छोराको विचार, नेतृत्व र व्यवहारलाई प्रशंसा गर्दथे । तर स्कुलको कमि कमजोरीले मेरो प्राण प्यारो छोरा गुमाएको छु,

आखिर यो अवस्था कहिलेसम्म ?

 पहिलो कुरा मेरो छोराले चिट्ठा लग्यो समाते, उत्तरपुस्तिका खोसे तर कक्षा-कक्षामा किन प्रचार-प्रसार गरे? के नियतले
उलाई यसरि गरे? किन उसको भावनासँग खेले?
 ३/४ जना शिक्षकले फेरी छुट्टै बोलाई गालि गरे किन? सम्झाउनु पर्थ्यो, किन त्यसो गरेनन?
 यो सबै गरेपछि कम्तिमा विश्वासलाई परामर्श गरेर पठाउन पर्थ्यो, किन गरेनन ?
 यो विषय अभिभावकलाई जानकारी गर्ने दायित्व स्कुलको हो कि होइन? किन जानकारी गरेनन ?
 सुसाइट नोटमा उल्लेख भएका केहि शिक्षकहरु (पुरुष र महिला) उक्त घटना पछी संचालन भएको परिक्षाको दिन स्कुल
आएनन, भागेका छन् भनि विद्यार्थीहरुबाट जानकारी प्राप्त भएको छ, किन त्यसो ?
 दाहसंस्कार गर्न जाँदा मलामी पनि कोहि शिक्षक आएनन, जबकि प्राय सबै शिक्षक छिमेकि गाउँ कै छन् l किन यसो ?
 दाहसंस्कार गरेको २१ दिन बितिसक्दा स्कुलबाट कोहि शिक्षक आएनन, यसो किन?
 यस्तो ठुलो घटना घट्यो, स्कुलको जिम्मेवारी के, केहि पनि होइन?

यसरी मसंग हजारौ प्रश्नहरु छन्, उक्त घटनाको दिन हजारौं मानिस आक्रोशित भई स्कुल जलाउने, तोडफोड गर्ने भन्दै गर्दा, त्यो
पिडामा पनि हामी संग्यमता अपनाई सबैलाई अनुरोध गरिम कि त्यसको उपाय त्यो होइन, मेरो छोरा फर्केर आउदैन तर हो एउटा
कुरा कि न्याय हुनु पर्छ, स्कुलले गरेको गल्ति महसुस गर्नु पर्छ, अब आउने दिनमा यस्तो घटना नहुन दिन यो विद्यालयलाई कानूनी र
सामाजीक रुपमा सचेत गराउनु पर्छ । हाम्रै गाउँघरका हजारौ बालबालिका त्यहाँ अध्ययन गर्दैछन्, यस्तो घटना पछी नहोला भन्न
सकिदैन भनि अहिले समाजले प्रश्न गर्दैछ र प्रतिक्रियाको तयार गर्दैछ, तसर्थ बालबालिकाको मनोविज्ञानलाई नबुझ्दा, स्कुलले आफ्नो
मनमानी गर्दा त्यसको पिडा हाम्रा बालबालिका र अभिभावकले कहिलेसम्म भोग्नु पर्ने हो ?

प्रकाशित मिति: २०२३-११-२५ , समय : ०९:०९:२८ , ५ महिना अगाडि