भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणमा ऊर्जा मन्त्री घिसिङको सकारात्मक प्रतिबद्धता

रुपन्देही खबर , ८८  पटक हेरिएको

भैरहवा,मंसिर १

सिद्धार्थनगर नगरपालिका–भैरहवामा भूमिगत विद्युत प्रणाली निर्माणका लागि ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले सकारात्मक सहयोग र पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खान र मन्त्री घिसिङबीच भएको भेटवार्तामा भैरहवाका मुख्य सडकहरूबाट ओभरहेड तार हटाई भूमिगत केबल बिछ्याउने विषयमा सहमति बनेको हो।

मेयर खानले भैरहवाको बैकरोड, गल्लामण्डी रोड, मैत्रीपथ, नारायणपथ र कोटहीमाई पथमा भूमिगत विद्युत प्रणाली निर्माण गर्न आवश्यक ४१ करोड ३ लाख ५० हजार रुपैयाँको बहुवर्षीय बजेट माग गर्दै प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तुत प्रस्तावको महत्त्वलाई बुझेका मन्त्री घिसिङले योजनालाई उच्च प्राथमिकतामा राखिने जानकारी दिँदै, आवश्यक प्राविधिक टोली छिट्टै भैरहवा पठाइने बताउनुभयो।

मन्त्री घिसिङका अनुसार भूमिगत प्रणाली लागू भएमा विद्युत वितरण अधिक सुरक्षित, ब्यवस्थित र विश्वसनीय हुनेछ। यससँगै ओभरहेड तारका कारण हुने दुर्घटनाको जोखिम घट्ने, सहरको सौन्दर्य अभिवृद्धि हुने र स्मार्ट सिटी विकासमा ठूलो टेवा पुग्ने उहाको भनाइ छ।

मेयर इश्तियाक अहमद खानले योजनाप्रति देखाइएको सकारात्मकता र सहयोगका लागि मन्त्री घिसिङप्रति आभार व्यक्त गर्दै भन्नु भयो “यसको कार्यान्वयनले भैरहवाको सुरक्षा, विकास, व्यवसायिक वातावरण र पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुग्नेछ।”

सिद्धार्थनगर नगरपालिकाले भैरहवालाई स्मार्ट, सुरक्षित र आधुनिक सहरको रुपमा विकसित गर्ने लक्ष्यका साथ भूमिगत विद्युत योजनालाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति: २०२५-११-१७ , समय : १८:३६:५७ , २ घन्टा अगाडि