नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा

रुपन्देही खबर , २४६  पटक हेरिएको

भैरहवा, मंसिर १८

व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्रमा गरिएको लगानी जोखिममा परेको बताएका छन् । उनीहरुले विमानस्थल सञ्चालन हुने मध्यनजर गर्दै पर्यटन क्षेत्रमा अरबौं लगानी भए पनि हालसम्म पनि नियमित उडान नहुँदा लगानी डुब्ने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले आइतबार सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरस्थित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० (महोत्सवस्थल) मा आयोजना गरेको पर्यटन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन ।

कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले पर्यटन क्षेत्र धरासायी बन्दै गएको र यो क्षेत्रमा गरिएको लगानी जोखिममा परेको बताउनु भएको छ । उहाले नेपालमा अपेक्षित रुपमा पर्यटक भित्र्याउन नसकिएको बताउनु भएको छ। । श्रेष्ठले भारतीय पर्यटकले ल्याउने रकमको सीमा तोकिदा पनि पर्यटन क्षेत्रको विकासमा बाधा पुगेको बताउनु भएको छ ।

संगठनका पूर्वअध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका सह–संयोजक नारायण प्रसाद भण्डारीले विमानस्थल सञ्चालनका लागि अब दबाबमूलक कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ । उहाले ‘विमानस्थल सञ्चालनका लागि पहल हुन सकेको छैन । कि अन्तर्राष्टिय विमानस्थलको बोर्ड हटाएर बसपार्क राख्नुपर्यो होइन भने विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्नुपर्यो भन्नू भयो । ’उहाले विमानस्थल पूर्णरुपमा सञ्चालन नहुनुमा व्यवसायीको के दोष छ भन्दै प्रश्न समेत गर्नु भएको छ ।

संगठनका कार्यसमिति सदस्य तथा पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका संयोजक अंकित जैसवालले विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै महोत्सवको मुख्य गेट हवाइजहाज आकृतिमा निर्माण गरिएको बताउनु भएको छ । उहाले विमानस्थल सञ्चालनमा नआउँदा अरबौंको लगानी जोखिममा परेको बताउनु भएको छ ।

पर्यटन व्यवसायी तथा सिद्धार्थ सञ्जाल, रुपन्देहीका महासचिव संजय बजिमयले कनेक्टीभिटी बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताउनु भएको छ । उहाले विमानस्थल सञ्चालनको दबाब दिन बाध्य भएर आन्दोलनमा उत्रिएको बताउनु भएको छ ।

इञ्जिनियर बालगोविन्द भटराईले स्थानीय कला संस्कृतिको संरक्षणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भएको छ ।

सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष श्रीचन्द गुप्ताले सीमा नामा व्यवस्थित हुन नसक्दा पर्यटकले सास्ती खेप्नुपरेको बताउनु भयो ।

होटल व्यवसायी माधव नेपालले विमानस्थल निर्माणका लागि अरबौं लगानी भए पनि पूर्ण सञ्चालन हुन नसकेको बताउनु भएको छ । उहाले विमानस्थल सञ्चालन हुने कुरालाई मध्यनजर गर्दै निजी क्षेत्रले अरबौं लगानी गरेको बताउनु भयो ।

लुम्बिनी केबलकार प्रा.लि.का अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले पर्यटन प्रवद्र्धनमा केबलकारले सहयोग गर्ने बताउनु भएको छ । उहाले पर्यटकको बसाइ लब्याउन सक्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनु भयो ।

एन.जी. मार्केट मणिग्रामका अध्यक्ष नारायण बन्जाडेले नेपालको सुन्दरताको बारेमा शब्दमा वर्णन गर्नै नसकिने बताउनु भएको छ । उहाले खेत अरुले रोपिदिन्छ भन्ने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिनु भएको छ ।

सिद्धार्थ होटल एशोसिशयनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भएको छ । उहाले मुलुकको पर्यटन नीति नै ठीक नभएको बताउनु भएको छ । उहाले सरकारलाई धेरैपटक विमानस्थल सञ्चालन गर्न अनुरोध गरे पनि मागको सुनुवाइ नगरेकाले आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । उहाले काठमाडौंका केही व्यक्ति पनि विमानस्थल सञ्चालन गर्नुहुँदैन भन्ने सोच रहेको बताउनु भयो ।

गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले नेपाल वायु सेवा निगमको जहाजको उपस्थिति यो विमानस्थलमा आवश्यक भएको बताउनु भएको छ । उहाले सरकार समक्ष यसबारे कुरा राख्दै आएको बताउनु भएको छ । उहाले विमानस्थल २४ सैं घण्टा र ३६५ दिन सञ्चालनमा रहेको तर नियमित अन्तर्राष्टिय उडान हुन नसकेको बताउनु भएको छ । उहाले नेपाल नागरिक उडड्यन प्राधिकरण पनि अन्तर्राष्टिय उडानका निम्ति लागिपरेको बताउनु भएको छ । उहाले नियमित व्यवसायिक उडान हुनुपर्छ भन्ने आफ्नो पनि माग रहेको बताउनु भएको छ। उहाले पूर्ण रुपमा उडान सञ्चालन गर्ने सन्दर्भमा ऐक्वद्धता रहे पनि विमानस्थल बन्द गरेर आन्दोलन गर्ने कुरामा आफ्नो विमत्ति रहेको बताउनु भएको छ ।

पर्यटन विकास परिषद् लुम्बिनी प्रदेशका कार्यकारी निर्देशक रामु जोशीले कुनै पनि ठाउँमा ठूलो संरचना बनाएर मात्र पर्यटन प्रवद्र्धन हुन नसक्ने बताउनु भएको छ । उहाले गत वर्ष टुर गाइड तालिममा १३५ जना सहभागी भएको र जसमध्ये १५ जनाले काम गरिरहेको बताउनु भएको छ । उहाले अब होटल व्यवस्थापन, कुक लगायतका तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिनु भएको छ।

उद्योग व्यापार संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति: २०२३-१२-०४ , समय : १४:२०:५९ , ९ महिना अगाडि