एन्फाका कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ

रुपन्देही खबर , २६  पटक हेरिएको

काठमाडौं, असोज ५

खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)का दुई कर्मचारीलाई पक्राउ गरेको छ। सीआईबीले एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई आइतबार राति पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को केन्द्रीय कार्यालय, त्रिपुरेश्वरबाट प्राप्त पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ परेका जोशी र पाण्डेलाई जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता जबराले जानकारी दिनुभयो। यसअघि पनि सीआईबीले एन्फाको सातदोबाटोस्थित कार्यालयमा छापा मारेर अनुसन्धानका क्रममा केही कागजात नियन्त्रणमा लिएको थियो।

उनीहरूमाथि लागेको आरोपबारे अनुसन्धान जारी रहेकाले आरोप पुष्टि भइसकेको अवस्था भने छैन। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०९:३७:५९ , ५९ मिनेटutes अगाडि