आज तमु ल्होसार’ पर्व मनाइदै ,देशभर सार्वजनिक बिदा

रुपन्देही खबर , २०२  पटक हेरिएको

भैरहवा, पुस १५

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन ।ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्य रूपमा मनाउँछन ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो। यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। यस अवसरमा रुपन्देही, नवलपरासी लगायतका जिल्लामा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ। कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन। कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ।

प्रकाशित मिति: २०२३-१२-३१ , समय : ०९:०६:०४ , ९ महिना अगाडि