कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो

रुपन्देही खबर , २४६  पटक हेरिएको

पोखरा,जेठ १५

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका छन् । दैनिक रुपमा भक्तजन बढ्दै गर्दा बुधबारमात्रै ३० हजार भन्दा बढी भक्तजन कोटीहोममा सहभागी भएको आयोजकले जनाएको छ ।

प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार कोटीहोममा देशभरबाट भक्तजन आएका छन् । उनका अनुसार नेपालको कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिचेको छ । नेपालको कोटीहोममा सहभागी हुन भारतबाट गाडी रिजर्भ गरेर भक्तजन आएको ढकालले बताउनु भएको छ ।

कोटीहोममा बुधबार पनि अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको कथा वाचनमा लठ्ठिएका छन् । उहाको प्रवचन आज पनि हुनेछ । कोटीहोममा उहाको यो दोस्रो आगमन हो । भारतमा महत्वपूर्ण कार्यक्रम छोडेर उहा दोस्रो पटक कोटीहोममा सहभागी हुनु भएको हो । उहाले यसलाई ‘नेपालीको माया, पोखरेलीको माया’ भन्दै आउनु भएको छ ।

उहा यही जेठ १६ गते कोटीहोमबाट बिदा हुँदैहुनुहुन्छ । त्यस लगत्तै भागवत मञ्जरी राधिका दासी आउदै हुनुहुन्छ । उहा आउने खबरले भक्तजन उत्साहित भएको संयोजक ढकालले जानकारी दिनु भएको छ ।

यस्तै कोटीहोममा आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न भएको छ । प्रतियोगितामा परमानन्द संस्कृत गुरुकुल देवघाट तनहुँका विशाल भण्डारी प्रथम हुँदै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कार जित्नु भएको छ । उहाले प्रतियोगितामा दुई सय २६ अंक प्राप्त गर्नु भएको छ ।

यस्तै पर्वत मोदीस्थित पशुपति आवासीय माविका सुवास पौडेल द्वितीय हुँदै ४१ हजार एक सय ४१, पोखरास्थित सैनिक आवासीय विद्यालयका समीर कार्की तृतीय हुँदै ३१ हजार एक सय ३१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नु भएको छ । पौडेलले दुई सय २५ र कार्कीले दुई सय १२ अंक प्राप्त गर्नु भएको थियो ।

यसैगरी कुश्मा पर्वतस्थित नमूना आवासीय माविकी सजता गिरी, स्याङ्जाको पुतलीबजारस्थित काजीमान हरिटीका माविकी रीत्तिका केसी, लमजुङको मध्यनेपालस्थित कुशुमाकर माविका सचित घिमिरेले सान्त्वना स्थान हासिल गर्दै २१ हजार एक सय २१ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नु भएको छ ।

साथै बाँकेको कोहलपुरस्थित जनता आदर्श माविकी भावना सिंह ठकुरी, जुम्लाको कनकासुन्दरी माविकी अस्मिता विश्वकर्मा, नवलपरासी सुनवलस्थित जगन्नाथ माविकी प्रशंसा महतो, स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ माविकी अमृता गुरुङले प्रतियोगितामा सहभागिता जनाएर जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नु भएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा ९० जनाले प्रतिस्पर्धा गरेका थिए । सहभागीले ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’ भन्ने शीर्षकमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए । कोटीहोम हेर्न र वक्तृत्वकलामा सहभागीका तर्क सुन्न पोखरास्थित विभिन्न विद्यालयका विद्यार्थीसमेत सहभागी थिए ।

प्रतियोगिताको संयोजक तथा निर्णायकमा संस्कृतिविद् डा. तुलसी प्रभास, निर्णायकमा महाकाव्यकार माधव वियोगी र शिक्षाविद् भगवती न्यापाने रहनु भएको थियो ।

साथै कोटीहोममा देशविदेशबाट साधु, सन्त, महन्तको आगमनले निकै रौनकता थपेको छ । साथै अनुराधा पाण्डेद्वारा श्यामद् भागवत कथा प्रवचन, व्यासाचार्य प्रशान्त कृष्ण परांकुश, वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, युवा दार्शनिक चैतन्यकृष्ण महाराजलगायतले कोटीहोममा कथा वाचन गरिसकेका छन् । कोटिहोममा रक्तदान र राष्ट्रिय भजन प्रतियोगिता जारी छ ।

यस्तै, हरेक दिन चार सय बढी ब्राम्हणले भगवानको नाममा आहुति गर्ने गरेका छन् भने हवन कुण्डका लागि जौ, तिल, घीउलगायतका हवन सामग्री दान गर्ने, हवन कुण्ड परिक्रममा गर्ने व्यवस्था रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिनु भएको छ ।

थापाका अनुसार कोटीहोममा तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्प योग पूजा, मङ्गल चतुर्थी व्रत उद्यापन, सप्त वार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋण मोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्ति पाठ, श्री सूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जारी छ ।

साथै रोग निवारण पाठ, ग्रह सूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्व शीर्ष पाठ पारायण, १०८ आवृत्ति हनुमान चालिसा पाठ, सड्कटमोचन एवं वजरंगवाण पाठ, कलह निवारण, श्री सूक्त पाठ पारायण, भूमि दोष निवारण, दश महादान, अष्ट महादान, पञ्चधेनुदान, भूमिदान, गोदान, कवच पाठ लगायतका अनुष्ठान तथा कर्महरू पितृ उद्धार, पारिवारिक सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि आफ्नो घर परिवार तथा आफ्ना पितृको नाममा २१ कोटी दीप प्रज्ज्वलन, तुला दान गर्ने व्यवस्था रहेको उहाले बताउनु भएको छ ।

पोखरा-१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : १५:३१:३५ , ८ महिना अगाडि