रुपन्देही खबर , ११५ पटक हेरिएको

बुटवल, जेठ २६
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले संविधान र कानूनमा उल्लेख भएका आफ्ना अधिकार प्राप्त गर्न पनि नसकेको गुनासो गरेका छन् । नेपालको संविधान २०७२ ले आफूहरुका लागि व्यवस्था गरेका विभिन्न अधिकारहरु कार्यान्वयनको अवस्था भने निराशाजनक रहेको उनीहरुको गुनासो छ ।
साहसी कदम नेपालले सोमबार रुपन्देहीको बुटवलमा आयोजना गरेको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको सशक्तिकरण र समावेशीका लागि अन्तरक्रियामा सहभागीहरुले राज्यले गर्ने विभेद अझै पनि अन्त्य हुन नसकेको गुनासो व्यक्त गरेका छन । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै साहसी कदम नेपालका रेशम न्यौपानेले लैंगिक अल्पसंख्यकहरुलाई समाजले हेर्ने दृष्टिकोण र राज्यका विभिन्न निकायमा गरिने विभेदले गर्दा संविधान र कानूनको सही कार्यान्वयन हुन नसकेको गुनासो गर्नु भएको छ । उहाँले कानून कार्यान्वयनको अवस्था फितलो हुँदा सामाजिक तथा आर्थिक पहुँचबाट लैंगिक तथा अल्पसंख्यक समुदाय टाढा हुनुपरेको गुनासो गर्न भएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आर्थिक समृद्धिका लागि उपमहानगरले सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको छ । स्पष्ट कार्य योजनासहित आउन आग्रह गर्दै उहाँले बजेट व्यवस्थापन, सीप तथा क्षमता विकाससँगै उद्यमशीलताका लागि काम गर्न तयार रहेको बताउनुभयो । बुटवल उपमहानगर सबै समुदाय, वर्ग र जस्तोसुकै पहुँचका व्यक्तिहरुका लागि समान रहेको बताउँदै उहाँले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेत प्राथमिकताका साथ ती कुराहरुलाई समावेश गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उपप्रमुख सावित्रादेवी अर्यालले यौनिक तथा अल्पसंख्यक समुदायलाई सीप र रोजगारसँग जोड्दै आर्थिक सशक्तिकरणका लागि तयार रहेको उल्लेख गर्नुभयो । उपमहानगरले कुनै पनि समुदायलाई सम्बोधन गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै उहाँले मानवीय विकास र समुदायको आर्थिक समृद्धिको कुरालाई प्राथमिकता दिइने उल्लेख गर्नुभयो ।
साहसी कदम नेपालकी अध्यक्ष हसिना क्षेत्रीले यौनिक तथा अल्पसंख्यक समुदायलाई राज्यले हेर्ने दृष्टिकोण केही सकारात्मक हुँदै गए पनि प्रर्याप्त भने नभएको उल्लेख गर्नुभयो । आज पनि कयौं यौनिक तथा अल्पसंख्यक समुदायले नागरिकता बनाउन नपाउने, विवाह दर्ता गराउन नपाउने लगायतका कानूनी झण्झटहरु कायम नै रहेको उहाँले गुनासो गर्नुभएको छ ।
प्रकाशित मिति: २०२५-०६-०९ , समय : २३:३४:०७ , ३ हप्ता अगाडि