राममणि बहुमुखी क्याम्पसको मा. वि .का प्र.अ. र लेखापालका लागि प्रशिक्षण

रुपन्देही खबर , ११८  पटक हेरिएको

मणिग्राम, साउन २७

रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसले माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालका लागि एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । तिलोत्तमा नगरभित्रका विद्यालयका लागि आयोजित “वर्तमान कर तथा लेखा प्रणाली सम्बन्धमा विद्यालयका प्रधानाध्यापक तथा लेखापाललाई प्रशिक्षण” कार्यक्रममा चार्टर्ड अकाउण्टेण्ट प्रमोद पन्थीले प्रशिक्षण दिनुभएको थियो । ‘क्याम्पस समुदाय सहकार्य’ कार्यक्रम अन्तर्गत सञ्चालित प्रशिक्षणमा करका दर तथा प्रकार, मूल्य अभिवृद्धि कर प्रणाली, सार्वजनिक खरीदका विषय लगायतमा अन्तक्र्रियात्मक तालिम दिइएको क्याम्पसका लेखापाल विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।

त्यसअघि प्रशिक्षण उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यले सरकारले गर्नुपर्ने काम राममणि क्याम्पसले गरेकोमा आभार व्यक्त गर्दै सहज लेखा प्रणालीका लागि प्रशिक्षण उपयोगी हुने बताउनुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले कानुनी विषयमा अनभिज्ञ छु भनेर छुट नपाइने हुँदा विधियुक्त काममा सघाउ पु¥याउन प्रशिक्षण आयोजना गरिएको उल्लेख गर्नुभयो ।

क्याम्पसका उपप्राध्यापक मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा गौतमबुद्ध मा.वि.का प्रधानाध्यापक मृगेन्द्र रिजाल, विश्व एकता एकेडेमीका लेखापाल निलम पाण्डे लगायतले विद्यालयका लेखा प्रणालीबारे प्रशिक्षणले थप स्पष्ट पारेको बताउनुभयो ।

प्रकाशित मिति: २०२५-०८-१२ , समय : १७:५८:२३ , २ दिन अगाडि