ब्राइट स्टार इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा अभिभावक र शिक्षक बिच अन्तर्क्रिया

रुपन्देही खबर , २०८  पटक हेरिएको

भैरहवा,भदौ ५

ब्राइट स्टार इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल सिनपा–१ रानीगाउँमा अभिभावक र शिक्षकबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक एल.बी. रौतारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरूको अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालय प्रशासन र अभिभावकबीच विद्यार्थीको सिकाइ, अनुशासन, सहजीकरण र शैक्षिक गुणस्तरका विषयमा छलफल गरिएको थियो ।

प्रधानाध्यापक एल.बी. रौतारले विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अनुशासन र व्यवहारमा सक्षम बनाउन अभिभावक–शिक्षक सहकार्य अनिवार्य रहेको बताउनु भएको छ। उहाले विद्यालयले शिक्षण–सहजीकरणलाई अझ प्रभावकारी बनाउन निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अभिभावकको सक्रिय सहभागिताले मात्र विद्यार्थीको अपेक्षित प्रगति सम्भव हुने बताउनु भएको छ ।

यस्तै गरि विद्यालयका सह–प्रधानाध्यापक राहुल यादवले अभिभावक–शिक्षकबीचको संवाद विद्यार्थीको शैक्षिक प्रगति र चरित्र विकासका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै विद्यालयले निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

त्यसैगरी विद्यालयको शिक्षक तथा अनुशासन प्रमुख अजिता रायमाझीले विद्यार्थीलाई समयपालन, आचरण र व्यवहारिक पक्षमा सजग बनाउन विद्यालय निरन्तर सचेत रहेको बताउनु भएको छ । उहाले अभिभावकहरूको सहकार्य बिना अनुशासनात्मक प्रगति सम्भव नहुने भएकाले सबैले संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

अन्तर्कृया कार्यक्रममा अभिभावकहरूले आफ्ना सुझाव राखेका थिए भने शिक्षकहरूले शैक्षिक प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: २०२५-०८-२१ , समय : १०:५०:०७ , ११ घन्टा अगाडि