रुपन्देही खबर , १६१ पटक हेरिएको

भैरहवा, असोज ६
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले यस वर्ष पनि दशैं सस्तो बजार आयोजना गर्ने भएको छ । असोज ८ गतेदेखि १२ गतेसम्म संघ परिसरमै हुने यो बजारलाई सफल बनाउन तयारी पूरा भएको संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिनु भएको छ । आज सोमबार भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष आचार्यले यसपटकको बजारले उपभोक्तालाई सस्तो, शुलभ र गुणस्तरीय वस्तु–सेवा उपलब्ध गराउने तथा स्वदेशी र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित दशैं सस्तो बजार आयोजना गर्न लागेको बताउनु भएको छ । उहाले यसपटकको बजारमा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, भाँडा, जुत्ता–चप्पल, घरेलु उत्पादन लगायतका सामान राखिएका १४ वटा स्टल रहने समेत जानकारी दिनु भयो । अध्यक्ष आचार्यले उपभोक्तालाई सहजता दिलाउन स्टल निःशुल्क उपलब्ध गराइने बताउनु भएको छ । ५ दिन सम्म चल्ने बजार अवधिमा संघले करिब ५० देखि ६० लाख रुपैयाँसम्मको कारोवार हुने अनुमान गरेको छ । साथै बजार क्षेत्रमा उपभोक्ताको सुरक्षाका लागि सिसिटिभी, शुद्ध खानेपानी लगायत सुविधा उपलब्ध गराइने संघले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले निरन्तरता पाएको दशैं बजारले स्थानीय उत्पादनलाई बजारमा प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ । उहाले उपभोक्ताले बाहिरी बजारको मुल्य भन्दा केही छुट रकममा गुणस्तरीय वस्तु सहज मूल्यमा पाउने भएकाले बजारप्रति विश्वास बढेको उल्लेख गर्नु भयो । उहाले बिगतको बजारले समेत उत्साह प्रदान गरेकोले यसलाई निरन्तरता दिन लागेको बताउनु भयो ।
संघका पूर्वअध्यक्ष तथा सल्लाहकार कूल प्रसाद न्यौपानेले उद्योगी–व्यवसायीको दीर्घकालीन हितका लागि यस्तो कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिनु भएको छ । उहाले “दशैं बजार जस्ता पहलहरूले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनतर्फ ध्यान दिन प्रेरित गर्नु मात्र नभई संघले व्यापारी, उपभोक्ता र सरकारी निकायबीच सहकार्यको पुल बनाइदिएको समेत बताउनु भएको छ । जसको परिणामस्वरूप बजार स्थायित्व र विश्वास बढ्दै गएको समेत उल्लेख गर्नु भयो । उहाले उद्योग–व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउन स्थानीय उत्पादनलाई प्राथमिकता यस बजारले दिएको जोड दिनु भएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले दशैं बजारलाई सफल बनाउन उद्योगी–व्यवसायी,उपभोक्ता, सरोकारवाला निकाय र सञ्चारकर्मीको सक्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ । उहाले यसपटक दशैं सस्तो बजारमा सुरक्षा, पारदर्शिता र उपभोक्ता–मैत्री वातावरणलाई उच्च प्राथमिकता दिएको बताउदै यसले बजारप्रति जनताको विश्वास थप बलियो बनाउने संघको अपेक्षा समेत रहेको जोड दिनु भएको छ ।
यस्तै गरी पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष कमल रायमाझीले दशैं बजारजस्ता कार्यक्रमले उपभोक्तालाई राहत दिने मात्र नभई स्थानीय पत्रकारिताको दायित्व पनि बढाउने टिप्पणी गर्नु भयो । उहाले सचेत उपभोक्ता निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा वक्ताहरुले विजया दशमी, शुभ दीपावली, छठ पर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण उपभोक्ता र आम जनतालाई मंगलमय शुभकामना दिएका थिए । संघले वि.सं. २०५८ सालमा पहिलो पटक दशैं–तिहार बजार आयोजना गरेको थियो भने दोस्रोपटक २०५९ सालमा, तेस्रोपटक २०७९ सालमा र चौथोपटक २०८० सालमा दशैं बजार सफलता पूर्वक सम्पन्न गरिसकेको छ ।
प्रकाशित मिति: २०२५-०९-२२ , समय : १३:०२:३९ , ६ दिन अगाडि