भैरहवामा मंसिर ३ गतेदेखि ७ औं लुम्बिनी महोत्सव हुदै

रुपन्देही खबर , ६६  पटक हेरिएको

भैरहवा, कार्तिक २०

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ रुपन्देहीको भैरहवामा ७ औं लुम्बिनी महोत्सव–२०८२ हुने भएको छ । महोत्सव आगामी मंसिर ३ गतेदेखि २१ गतेसम्म रुपन्देहीको सिद्धार्थनगर–८, अञ्चलपुर, भैरहवामा हुने उद्योग व्यापार संगठन, रूपन्देहीका अध्यक्ष सचिन रोक्काले जानकारी दिनु भएको छ ।

उहाले महोत्सवको मुख्य उद्देश्य नै स्थानीय उत्पादन, उद्योग, व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्नु रहेको बताउदै महोत्सवमा स्वदेशी वस्तु प्रदर्शन, कृषिजन्य उत्पादन बिक्री, स्थानीय हस्तकला, घरेलु उद्योग, कपडा, सजावट सामग्री र आधुनिक प्रविधिका स्टलहरू रहने जानकारी दिनु भयो ।
मुख्य आकर्षणः फिस टनेल (जलपरी अवलोकन निःशुल्क), अम्युजमेन्ट राइड्स, स्वदेशी तथा स्थानीय उत्पादनको प्रदर्शनी

महोत्सवमा मनोरञ्जनका लागि मुख्य आकर्षक फिस टनेल (जलपरी अवलोकन निःशुल्क), अम्युजमेन्ट राइड्स, स्वदेशी तथा स्थानीय उत्पादनको प्रदर्शनी रहेको अध्यक्ष रोक्काले बताउनु भयो । फिस टनेलको अवलोकन मेला प्रवेश टिकटमै निःशुल्क रूपमा उपलब्ध हुनेछ । गुणस्तरीय मनोरञ्जनको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गर्ने आयोजकले जनाएको छ ।

महोत्सवका बारेमा जानकारी दिंदै चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले “लुम्बिनी महोत्सव रुपन्देही जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको अभियान भएको बताउदै महोत्सवले स्थानीय उत्पादन र स्वदेशी उद्योगलाई बजारमा लैजाने अवसर प्रदान गर्ने भएकोले हामी सबैले स्वदेशी वस्तुको प्रयोग र स्थानीय बजारमा प्राथमिकता दिएर स्वाभिमानी नेपालीको पहिचान जोगाउन सक्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।

अध्यक्ष रोक्काका अनुसार, महोत्सवमा देशभरका व्यापारी, कृषक, उद्योगी, पर्यटक र सर्वसाधारणको सहभागिता रहने अपेक्षा गरिएको छ । महोत्सवले रुपन्देहीलाई व्यापार, पर्यटन र संस्कृतिको साझा गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास आयोजकले गरेको छ ।

प्रकाशित मिति: २०२५-११-०६ , समय : १२:३४:४० , ४ घन्टा अगाडि