रुपन्देहीमा श्रीमती हत्या प्रकरणः फरार अभियुक्त बुटवल बसपार्कबाट पक्राउ

रुपन्देही खबर , १९८  पटक हेरिएको

भैरहवा, कार्तिक ३०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नै श्रीमतीको हत्या प्रकरणमा फरार रहेका एक अभियुक्तलाई बुटवल बसपार्क क्षेत्रबाट पक्राउ गरेको छ। सामाजिक सञ्जाल प्रयोगसम्बन्धी विषयलाई लिएर उत्पन्न विवादका क्रममा श्रीमतीको हत्या गरी फरार रहेका बाग्लुङ निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय विजय भनिने बिर बहादुर कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कार्तिक २७ गते बिहान करिब ८ बजे सिद्धार्थनगर–८, लुम्बिनी गेटस्थित होटल लुम्बिनी गेटको स्टाफ कोठामा कार्यरत बाग्लुङ निसीखोला–६ रास्कोटकी २० वर्षीया मेलिना परियार मृत अवस्थामा फेला परेकी थिइन्। मृतकका श्रीमान कुँवरले सामाजिक सञ्जालको प्रयोग र अर्को महिलासँग गरेको कुराकानीका कारण शंका उत्पन्न भई दम्पतीबीच झगडा तथा वादविवाद भएको, सोही क्रममा मदिरा सेवन गरेका अभियुक्तले कर्तव्य गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनु भयो ।

घटनापछि फरार भएका कुँवरलाई प्रहरीले कार्तिक २८ गते साँझ ६ बजे बुटवल उपमहानगरपालिका–९ बसपार्क क्षेत्रमा लुकीछिपी भाग्न खोजिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। पक्राउ परेका कुँवरलाई आवश्यक म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार घटना सम्बन्धमा आवश्यक कानूनी प्रक्रिया र विस्तृत अनुसन्धान जारी रहेको छ।

प्रकाशित मिति: २०२५-११-१६ , समय : १७:२७:०९ , ५ घन्टा अगाडि