रुपन्देही खबर , ६७ पटक हेरिएको
भैरहवा, मंसिर ३
रुपन्देहीको भैरहवामा आज (बुधबार)देखि सातौँ लुम्बिनी महोत्सव–२०८२ सुरु हुँदैछ। ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवद्र्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नारासहित मंसिर २१ गतेसम्म सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा महोत्सव सञ्चालन हुनेछ।
महोत्सवको उद्घाटन संविधानसभा सदस्य एवं Sसिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले संयुक्त रुपमा गर्नु हुनेछ । आयोजक संस्था चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काका अनुसार महोत्सवलाई यसपटक अझ आकर्षक र प्रभावकारी बनाउन विशेष तयारी गरिएको छ।
३५० स्टल, ‘जलपरी’ र फिसटनेल मुख्य आकर्षण
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, बैंक–वित्तीय संस्था, अटो, होटल, महिला हस्तकला लगायतका ३५० स्टल रहनेछन्।
यस वर्षको प्रमुख आकर्षणको रूपमा नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल शो प्रस्तुति राखिएको अध्यक्ष रोक्काले जानकारी दिनुभयो। “उद्योग र व्यापारलाई प्रोत्साहन दिँदै परनिर्भर अर्थतन्त्र घटाउने तथा लुम्बिनी क्षेत्रका पर्यटनस्थलको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ, यसले उत्पादक–उपभोक्ताबीच समन्वय गर्दै स्थानीय वस्तुको बजार विस्तारमा सहयोग पुर्याउने छ,”– उहाँले बताउनुभयो।
कुस्ती प्रतियोगितादेखि राष्ट्रिय कलाकारसम्म
महोत्सव अवधिमा तीन दिनसम्म कुस्ती प्रतियोगिता सञ्चालन हुनेछ।
निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठका अनुसार यसपटकको कुस्ती प्रतियोगिता प्रदेशकै सबैभन्दा ठूलो आकर्षणमध्ये एक हुनेछ।
त्यस्तै, संस्थाका पूर्वअध्यक्ष नारायण प्रसाद भण्डारीका अनुसार महोत्सवमा स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दैनिक प्रस्तुति रहनेछ।
महोत्सव सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले आग्रह गर्नुभयो।
जनचेतना ¥यालीबाट सुरु
महोत्सव उद्घाटनअघि बिहान ९ बजे देवकोटाचोकदेखि औद्योगिक जनचेतना ¥याली सुरु भई महोत्सवस्थल अञ्चलपुरसम्म पुग्नेछ।
महासचिव लक्ष्मी अधिकारीका अनुसार चेम्बरले २०६६ सालमा सुरु गरेको महोत्सव २०८२ सम्म आइपुग्दा अब सातौँ संस्करण आयोजना गर्न लागेको हो।
५ करोड बराबरको कारोबार लक्ष्य
सुमारे १ करोड रुपैयाँ लागतमा आयोजना हुने महोत्सवमा १ लाख ५० हजारभन्दा बढी दर्शक भित्रिने अपेक्षा गरिएको छ।
महोत्सवमा करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको आयोजकको भनाइ छ।
महोत्सवका संरक्षक तथा सहयोगी संस्थाहरूः सिद्धार्थनगर नगरपालिका, लुम्बिनी प्रदेश चेम्बर अफ कमर्श एस.आर. स्टिल एण्ड एस.आर. फुड्स प्रा.लि., सनसाईन फुड प्रा.लि., रिया एण्ड रक्षा फुड प्रा.लि. (मुख्य प्रायोजक), कृषि तथा भूमि व्यवस्था मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, लुम्बिनी प्रदेश (सह–आयोजक) पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश (प्रवद्र्धक) सचिवालय प्रायोजकमा मंगलम इण्डष्ट्रिज, ग्रेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स,
मुख्य आधिकारिक बैंक नेपाल एसबीआई बैंक, अन्य आधिकारिक बैंक प्रभु बैंक, इन्स्योरेन्स पार्टनर युनाइटेड अजोड इन्स्योरेन्स र यस क्षेत्रका सम्पूर्ण संघ–संस्थाको सक्रिय सहयोग रहेको छ।
प्रकाशित मिति: २०२५-११-१९ , समय : ०९:४४:४७ , ३ घन्टा अगाडि