यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको २१ औं क्याम्पस सभा सम्पन्न

तुलसी राम पौडेल , ८७  पटक हेरिएको

फर्साटिकर,मंसिर ७

रुपन्देहीको शुद्धोधन गाउँपालिका–३, रमवापुरस्थित यज्ञोदय दुधनाथ थारू बहुमुखी क्याम्पसको २१ औं क्याम्पस सभा तथा वार्षिक उत्सव समारोह शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले गर्नुभयो। उद्घाटनपछि बोल्दै उहाँले सरकारको नीतिगत बाध्यताका कारण प्रत्यक्ष आर्थिक सहयोग गर्न नसकिएको भए पनि क्याम्पसको उन्नति र विकासका लागि गाउँपालिका सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ शर्माको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

क्याम्पस सभामा लुम्बिनी प्रदेशभरि नै प्रथम हुन सफल छात्रा आकृति उपाध्यायलाई विशेष सम्मान गरिएको थियो। त्यस्तै, उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो। साथै, आ–आफ्नो विषयमा १०० प्रतिशत नतिजा निकाल्न सफल प्राध्यापकहरूलाई समेत क्याम्पसले प्रशंसा–पत्र सहित सम्मान गरेको थियो।

क्याम्पस प्रमुख टंक प्रसाद पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन क्याम्पस सञ्चालक समिति सदस्य विक्रम टण्डनले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम क्याम्पस प्राविधिक सदस्य कैलास चन्द ज्ञवालीको स्वागत मन्तव्य र सहायक क्याम्पस प्रमुख भेषराज ढकालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाईं, यज्ञोदय क्याम्पस प्राध्यापक संघका सभापति माधव नेपाल, क्याम्पस स्ववियु सभापति आदेश राना तथा नेपाली कांग्रेस शुद्धोधनका सभापति दामोदर पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

क्याम्पस सभाले वार्षिक गतिविधि, उपलब्धि, सुधारका क्षेत्र तथा आगामी योजनाबारे थप स्पष्ट मार्गनिर्देशन गरेको क्याम्पसले जनाएको छ।

प्रकाशित मिति: २०२५-११-२३ , समय : ०८:१०:१४ , ४ घन्टा अगाडि