सिद्धार्थ एकीकृत विद्यालय संघद्वारा हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

रुपन्देही खबर , ८६  पटक हेरिएको

भैरहवा,मंसिर १२

सिद्धार्थ एकीकृत विद्यालय संघ रूपन्देहीले आयोजना गरेको जुनियर तथा सिनियर तहको हाजिरी–जवाफ प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । संघका अध्यक्ष एल.बी. रौतारको अध्यक्षता तथा ब्राइट स्टार इंगलिस बोडिङ स्कुलका प्रबन्धक एवं सिद्धार्थ एकेडेमीका प्रधानाध्यापक अमित यादवको प्रमुख आतिथ्यतामा सिद्धार्थनगर–८, भैरहवास्थित मोर्डन पब्लिक स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

हाजिरी जवाफ प्रतियोगिताको उद्धघाटन गर्नु हुदै प्रमुख अतिथी यादवले शिक्षाले केवल पुस्तकको ज्ञान मात्रै होइन, तर्कशक्ति, आत्मविश्वास र वक्तृत्व कौशल पनि विकास गर्छ भन्ने कुराको उत्कृष्ट उदाहरण आजका विद्यार्थीहरूले प्रस्तुत गरेको बताउनु भएको छ । विजयी तथा सहभागी सबै विद्यार्थीलाई बधाई दिदै यादवले विद्यालयहरुले यस्ता प्रतिभा विकासका क्रियाकलापलाई निरन्तरता दिनु आवश्यक भएको जोड दिनु भएको थियो ।
यस्तै गरी कार्यक्रमका अध्यक्ष एल. बी. रौतारले “विद्यार्थीहरूको सिर्जनशीलता, तत्परता र ज्ञान परीक्षणका लागि हाजिरी–जवाफ प्रतियोगिता महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ । उहाले संघ अन्तर्गतका विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र मैत्रीपूर्ण वातावरण विकास गर्ने हाम्रो उद्देश्य आज सफल भएको बताउदै आगामी दिनमा अझै व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता समेत गर्नु भएको छ ।

कार्यक्रममा सुर्यदेव मावि–सिनपा ४ का भरत गिरीको स्वागत मन्तव्य रहेको प्रतियोगितामा नारायण केवट, मुकेश यादव, अमरजित यादव, युनिक पब्लिक स्कुलका प्रधानाध्यापक मनोज जिसी लगायतले शुभकामना व्यक्त गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने धारणा राख्नु भएको थियो । ब्राइट स्टार इंगलिस बोडिङ स्कुलका सह–प्रधानाध्यापक राहुल यादवले सञ्चालन गर्नु भएको हाजिरी–जवाफ प्रतियोगिताको निर्णायक मण्डलमा सबिता गैरे, कमला रायमाझी, सोहाना खातुन र रानी खातुन रहेका रहनु भएको थियो ।

हाजिरी–जवाफ प्रतियोगितामा जुनियर समूहमा मोर्डन पब्लिक स्कुल प्रथम, ब्राइट स्टार इंगलिस बोडिङ स्कुल द्वितीय, सिद्धार्थ एकेडेमी तृतीय र युनिक पब्लिक स्कुलले सान्त्वना स्थान हासिल गरेको छ ।

यस्तै गरी सिनियर समूहतर्फ ब्राइट स्टार इंगलिस बोडिङ स्कुल प्रथम, मोर्डन पब्लिक स्कुल द्वितीय, सिद्धार्थ एकेडेमी रूपन्देही तृतीय तथा युनिक पब्लिक स्कुलले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजेता विद्यालयहरूलाई पदक तथा प्रमाणपत्रले सम्मान गरिएको संघले जनाएको छ ।

त्यसैगरी, मोर्डन पब्लिक माध्यमिक विद्यालय (सि.ना.पा–८, शिवपथ भैरहवा) मा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गरी हाल एमबिबिएस पूर्ण छात्रवृत्तिमा छनोट हुन सफल कञ्चन रौनियारलाई बधाइ तथा शुभकामना सहित विशेष रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२५-११-२८ , समय : २२:१२:३१ , ४ घन्टा अगाडि