कपिलवस्तुको विजयनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

रामु प्रसाद कुर्मी , २१५  पटक हेरिएको

महाराजगंज,मंसिर २२

कपिलवस्तुको विजयनगर गाउँपालिका–६ बद्धौरमा अवस्थित विजयनगर आधारभूत अस्पतालमा सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा उत्साहपुर्वक सहभागिता जनाउँदै १ सय ४० जना रक्तदाताले रगतदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीको आयोजना, विजयनगर गाउँपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी बुटवलको प्राविधिक सहयोगमा बृहत रक्तदान कार्यक्रम भएको हो । राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीले यस वर्ष पनि दोस्रो बृहत रक्तदान कार्यक्रममार्फत उल्लेखनीय रगत संकलन गर्न सफल भएको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले संकलित रगतले रक्त अभावलाई सहयोग पुग्ने बताउनु भएको छ । राष्ट्रिय युवा संघले प्रशंसनीय कार्य गरेको भन्दै रक्तदातालाई उहाले धन्यवाद व्यक्त गर्नु भएको छ । यसैेगरी राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले युवाहरूले समाज सेवामा सक्रिय हुनुपर्छ भन्ने सन्देश सहित आम नागरिकमा सेवाभावको जागरूकता देखिएको बताउँदै रक्तदातालाई धन्यवाद दिनु भएको छ ।

रक्तदान कार्यक्रमले मानवताको भावना जागृत गर्नुको साथै समुदायभित्र सहयोग र एकता भावनाको विकासमा टेवा पु¥याउने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्ष तिलक गिरीले बताउनु भएको छ । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमान, समाजसेवी नेत्रराज अधिकारी, थर्क बहादुर खन्गाहा, गोकर्ण प्रसाद सापकोटा लगायतको सहभागिता थियोे ।

प्रकाशित मिति: २०२५-१२-०८ , समय : १९:४५:३१ , २ महिना अगाडि