उर्मिला यादव यात्री , ९५ पटक हेरिएको
भैरहवा, मंसिर २८
श्री जय बागेश्वरी बहुमुखी सहकारी संस्था लि., सिद्धार्थनगर–३, रूपन्देहीको २० औँ वार्षिक साधारणसभा शनिबार भैरहवामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक कुमार शाहको अध्यक्षता तथा पूर्व सांसद डा. प्रमोद कुमार यादवको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

२० औँ वार्षिक साधारणसभाको उदघाटन गर्नु हुदै प्रमुख अतिथी डा. यादवले सहकारी संस्थाहरू आर्थिक विकासका मेरुदण्डका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै जय बागेश्वरी बहुमुखी सहकारीले सदस्यको हितलाई केन्द्रमा राखी पारदर्शी र उत्तरदायी ढंगले सेवा प्रवाह गर्दै आएको बताउनुभएको छ । उहाँले सीमित स्रोत–साधनका बाबजुद पनि सहकारीले वित्तीय पहुँच नपुगेका वर्गलाई सेवा दिँदै आत्मनिर्भरता बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो । सहकारीलाई अझ सुदृढ बनाउन सुशासन, प्रविधि र दक्ष व्यवस्थापनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै गरी संस्थाका अध्यक्ष अशोक कुमार शाहले स्थापना कालदेखि नै सहकारीले अनुशासन, पारदर्शिता र सदस्य सहभागितालाई मूल आधार बनाएर काम गर्दै आएको बताउनुभएको छ । सदस्यहरूको बचत सुरक्षित राख्दै उत्पादनशील क्षेत्रमा ऋण लगानी, स्वरोजगार सिर्जना तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत सहकारीले समुदायको आर्थिक र सामाजिक रुपान्तरणमा योगदान पु¥याएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा सहकारीको सेवा दायरा विस्तार गर्दै प्रविधिमैत्री सेवा प्रवाह, जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वलाई थप मजबुत बनाइने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी समाजसेवी अमित कुमार गुप्ताले जय बागेश्वरी सहकारीले बचत संकलन मात्र नभई सदस्यहरूको जीवनस्तर उकास्न लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनु भएको छ ।
समाजसेवी तथा उद्योगपति भैरव प्रसाद कलवारले सहकारीले उद्योग, व्यापार तथा कृषिक्षेत्रमा लगानी बढाएर स्थानीय अर्थतन्त्र चलायमान बनाउन उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।

यस्तै गरी कृषि विकास बैंक लिमिटेडका पूर्व निर्देशक राजेश कुमार श्रीवास्तवले सहकारीको वित्तीय अनुशासन, समयमै लेखापरीक्षण र पारदर्शी कार्यशैली प्रशंसनीय रहेको भन्दै बैंक तथा सहकारीबीचको सहकार्यले आर्थिक विकासलाई थप गति दिने बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष अविनाश चन्द जयसवालले सहकारीप्रति सदस्यहरूको निरन्तर विश्वास र सक्रिय सहभागिताका कारण संस्था आज सबल र सक्षम बनेको बताउनुभएको छ । उहाँले सहकारीलाई अझ मजबुत बनाउन सबै सदस्य, कर्मचारी र सरोकारवालाबीच सहकार्य, एकता र सकारात्मक सोच आवश्यक रहेको जोड दिनु भयो ।

साधारणसभामा संस्थाका सचिव तथा समाजसेवी एवं मिथिलाञ्चल समाज भैरहवाका अध्यक्ष अमर कुमार झाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षमा भएका उपलब्धि, सेवा विस्तार, ऋण–लगानी, सामाजिक उत्तरदायित्वका कार्यक्रम तथा भावी योजना बारे जानकारी गराउनुभयो ।

त्यस्तै, संस्थाका कोषाध्यक्ष तथा समाजसेवी सियाराम यादवले आय–व्यय विवरण, वित्तीय अवस्था र कोष व्यवस्थापन सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै गरी लेखा समिति संयोजक शत्रुधन पण्डितले लेखा विवरण प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सन्तोषजनक रहेको जानकारी गराउनुभएको थियो ।

साधारणसभाले प्रस्तुत सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित गर्दै आगामी आर्थिक वर्षका कार्यक्रम, नीति तथा बजेट स्वीकृत गरेको छ । सहकारीले आगामी दिनमा सदस्य–केन्द्रित सेवा, सुशासन र आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्दै अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता समेत गरेको छ ।
कार्यक्रममा २०८१ को एसइई परीक्षामा उत्कृष्ट अंक ल्याएका शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो भने सहकारीका सम्पुर्ण कर्मचारीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा सहकारीका शेयर सदस्यहरू, सञ्चालक समिति सदस्यहरू, लेखा समिति सदस्यहरू, कर्मचारीहरू, स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-१२-१४ , समय : ११:००:२१ , १२ घन्टा अगाडि