दुर्गा मोडल एकेडेमीमा अन्तर–विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न

मौलिक संस्कृति संरक्षणमा जोड

उर्मिला यादव यात्री , ३१५  पटक हेरिएको

भैरहवा, पुस १

दुर्गा मोडल एकेडेमी, सियारी–२, चंठा, रूपन्देहीले अन्तर–विद्यालय स्तरीय नेपाली लोकनृत्य प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण बरईको अध्यक्षता तथा सियारी गाउँपालिकाकी उपप्रमुख तारा थारुको प्रमुख आतिथ्यतामा सोमबार एक कार्यक्रमका बिच प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको उदघाटन गर्नु हुदै प्रमुख अतिथि थारुले प्रविधिको तीव्र विकाससँगै नयाँ पुस्ता आधुनिक जीवनशैलीतर्फ आकर्षित हुँदै गएको सन्दर्भमा मौलिक संस्कृति, परम्परा र पहिचान जोगाइराख्नु आजको ठूलो चुनौती भएको बताउनु भएको छ । “यस्ता लोकनृत्य प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नै संस्कृति चिन्न, बुझ्न र त्यसप्रति गर्व गर्न प्रेरित गर्छ,” उहाले भन्नु भयो । उपप्रमुख थारुले सियारी गाउँपालिकाले शिक्षा क्षेत्रको विकाससँगै कला, संस्कृति र सिर्जनात्मक गतिविधिलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

यस्तै गरी विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण बरईले विद्यालय केवल पाठ्यपुस्तकमा सीमित ज्ञान दिने संस्था नभई विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने केन्द्र हुनुपर्ने बताउनु भएको छ । उहाले शैक्षिक गुणस्तर अभिवृद्धिसँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई सिर्जनशील र आत्मविश्वासी बनाउन दुर्गा मोडल एकेडेमीले निरन्तर प्रयास गर्दै आएको जोड दिनु भयो । उहाले “विद्यार्थीभित्र लुकेको प्रतिभालाई पहिचान गरी सही अवसर प्रदान गर्न सकिए उनीहरू भविष्यमा राष्ट्रकै गहना बन्न बताउनु भयो ।


यस्तै गरी दुर्गा मोडल एकेडेमीका प्रधानाध्यापक सुरेश कुमार बरईले विद्यार्थीहरूको प्रतिभा विकाससँगै नेपाली मौलिक कला–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यस वर्ष अन्तर–विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गरिएको जानकारी गराउनु भएको छ । उहाले आगामी दिनमा साहित्य, संगीत, नाटक लगायतका विविध सांस्कृतिक गतिविधिलाई पनि निरन्तरता दिइने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास हुने बताउनु भएको छ ।

यस्तै गरी मैनहिया माध्यमिक विद्यालयका प्राचार्य विष्णु प्रसाद गौतमले आजको नयाँ पुस्ता पश्चिमी संस्कृतितर्फ बढी आकर्षित भइरहेका बेला लोकनृत्य र मौलिक संस्कृतिमा आधारित कार्यक्रमले सांस्कृतिक सन्तुलन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ । उहाले विद्यालयस्तरबाटै यस्ता कार्यक्रमलाई प्राथमिकता दिन सके दीर्घकालीन रूपमा नेपाली संस्कृति सुरक्षित रहने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

यस्तै गरी सियारी प्याब्सन अध्यक्ष कमल प्रसाद पौडेलले निजी तथा सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै प्रतिस्पर्धाले नै शिक्षाको गुणस्तर उकास्ने बताउनु भएको छ । उहाले लोकनृत्यजस्ता कार्यक्रमले विद्यार्थीलाई सिर्जनशील बनाउनुका साथै सामाजिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने बताउनु भएको छ ।

कार्यक्रममा दुर्गा मोडल एकेडेमीका सह–प्रधानाध्यापक विजय कुमार बरईले स्वागत मन्तव्य राख्दै विद्यालयले विद्यार्थीको शैक्षिक सफलतामात्र होइन, जीवनोपयोगी सीप, संस्कार र आत्मविश्वास विकासमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताउनु भएको छ । उहाले “लोकनृत्यजस्ता कार्यक्रमले विद्यार्थीमा अनुशासन, टोली भावना, नेतृत्व क्षमता र आत्मविश्वासको विकास गराउँनुका साथै यस्ता प्रतियोगिताले विद्यार्थीलाई स्टेजमा प्रस्तुत हुने अवसर दिँदै उनीहरूको लुकेको क्षमता उजागर गर्न मद्दत गर्ने जोड दिनु भयो ।


प्रतियोगितामा सहभागी विद्यालयहरूले नेपाली लोकसंस्कृति झल्किने विविध नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। कडा र रोमाञ्चक प्रतिस्पर्धाका बीच दुर्गा शैक्षिक गृह प्रथम, लुम्बिनी ज्ञान ज्योती माध्यमिक विद्यालय द्वितीय तथा शुभ संस्कार इङलिस बोर्डिङ स्कुल तृतीय स्थान हासिल गर्न सफल भएका छन्।


प्रतियोगितामा प्रथम हुने विद्यालयलाई आकर्षक ट्रफीसहित नगद रु ५ हजार, द्वितीय हुनेलाई ट्रफीसहित नगद रु ४ हजार तथा तृतीय हुने विद्यालयलाई ट्रफीसहित नगद रु ३ हजार प्रदान गरी सम्मान गरिएको थियो । साथै प्रतियोगितामा सहभागी सबै विद्यालयलाई प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा कला–संस्कृतिप्रति रुचि बढाउनुका साथै सृजनशीलता, आत्मविश्वास, अनुशासन र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागी अभिभावक तथा शिक्षकहरूले प्रतिक्रिया दिएका छन्।

नेपाली मौलिक कला–संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नका लागी आयोजना गरिएको प्रतियोगितामा रुपन्देही जिल्लाका १२ वटा विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन विद्यालयका शिक्षक प्रदीप कुमार सक्सेनाले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२५-१२-१६ , समय : १०:३०:५४ , १५ घन्टा अगाडि