उर्मिला यादव यात्री , ५४ पटक हेरिएको
भैरहवा, पुस २
एभरग्रिन प्यासिफिक इङ्लिस हाइस्कूल मायादेवी ७ रुपन्देहीले आज एक कार्यक्रमका बिच विजयी जुलुस निकालेको छ । सामूहिक विद्यालय परिवार रुपन्देहीद्वारा आयोजित २२ औँ सामूहिक खेल महोत्सव–२०८२ मा सहभागी रहेका बिद्यालयहरुमध्ये सर्वाधिक ९ वटा स्वर्ण पदक प्राप्त गरेको अवसरमा बिद्यालयले रुपन्देहीको बनगाई, मर्चहवा, महुवारी लगायतका विभिन्न स्थानमा विजयी जुलुस आयोजना गरेको हो ।


जुलुसमा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । पदकसहित उत्साहपूर्वक सहभागी विद्यार्थीहरूले विद्यालयको गौरवपूर्ण सफलता सार्वजनिक रूपमा प्रस्तुत गरेका थिए ।

विजयी जुलुस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तराम कुर्मीको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले एभरग्रिन प्यासिफिक हाइस्कूलले शैक्षिक उपलब्धिसँगै खेलकुद क्षेत्रमा पनि निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै आएको उल्लेख गर्नुभएको छ । उहाँले यो सफलता विद्यालय परिवारको सामूहिक मेहनत र अनुशासनको प्रतिफल भएको बताउनुभएको छ ।
विद्यालयका प्रबन्ध निर्देशक अनिल कुमार कुर्मीले विद्यार्थीको प्रतिभा पहिचान गरी त्यसलाई निखार्ने वातावरण निर्माण गर्नु विद्यालयको प्राथमिक लक्ष्य रहेको बताउनु भएको छ । खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व क्षमता र आत्मविश्वास विकास गर्ने भएकाले विद्यालयले यस क्षेत्रमा विशेष जोड दिँदै आएको उहाँको भनाइ छ ।

यस्तै गरी बिद्यालयका प्रधानाध्यापक प्रमोद यादवले विद्यार्थीहरूको निरन्तर अभ्यास, शिक्षकहरूको समर्पणपूर्ण मार्गदर्शन तथा अभिभावकहरूको विश्वास र सहयोगकै कारण विद्यालयले दोस्रो पटक समग्र च्याम्पियन उपाधि हात पार्न सफल भएको बताउनुभएको छ । उहाँले आगामी दिनमा पनि शैक्षिक र खेलकुद दुवै क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२२ औँ सामूहिक खेल महोत्सव–२०८२ अन्तर्गत एभरग्रिन प्यासिफिक इङ्लिस हाइस्कूलले कक्षा १ देखि ३ सम्म सब–जुनियर, कक्षा ४ देखि ६ सम्म जुनियर तथा कक्षा ७ देखि ९ सम्म सिनियर लेबल गरी तीन तहमा सहभागिता जनाएको थियो । प्रतियोगितामा विद्यालयले ९ वटा स्वर्ण, ३ वटा रजत र १ वटा कास्य पदक जित्दै सहभागी विद्यालयहरूमध्ये सर्वाधिक पदकसहित प्रथम स्थान हासिल गरेको हो ।
यस वर्षको सामूहिक खेलकुद कार्यक्रमको समग्र उपाधिसहित सर्वाधिक ९ वटा स्वर्ण पदक प्राप्त गर्दै एभरग्रिन प्यासिफिक हाइस्कूलले रनिङ शिल्डसमेत आफ्नो नाममा सुरक्षित गर्न सफल भएको छ।
प्रकाशित मिति: २०२५-१२-१७ , समय : २३:०६:२५ , ४ घन्टा अगाडि