भैरहवामा यहि पुस ६ गते सामूहिक ध्यान कार्यक्रम हुँदै

रुपन्देही खबर , १०१  पटक हेरिएको

भैरहवा, पुस ४

द आर्ट अफ लिभिङ फाउण्डेसनको आयोजनामा यही पुस ६ गते भैरहवामा सामूहिक ध्यान कार्यक्रम आयोजना हुने भएको छ । ‘वैश्विक शान्ति र सद्भावका लागि ध्यान’ भन्ने नाराका साथ द आर्ट अफ लिभिङ आश्रम भैरहवाले कार्यक्रम गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । कार्यक्रम नेपाल नालन्दा आवासिय माध्यमिक बिद्यालय सिद्धार्थनगर ९ मा बिहान ८ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा भारतको बैंगलोरबाट आउनु भएका स्वामी देवदत्त ब्रह्मचारी तथा यस क्षेत्रका आर्ट अफ लिभिङका प्रशिक्षकहरूले ध्यान गराउनु हुनेछ । विद्यार्थी, अभिभावक, शिक्षक–शिक्षिका, स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी तथा सर्वसाधारण गरी करिब एक हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले गर्ने कार्यक्रम रहेको छ ।

यस्तै गरी सोही दिन दिउँसो १ बजेदेखि कंचन गाउँपालिका–४ स्थित दियो खेलमैदानमा पनि समान प्रकृतिको ध्यान कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रम कंचन गाउँपालिकाको आयोजना तथा द आर्ट अफ लिभिङ नेपाल कंचन गाउँपालिकाको संयोजनमा सञ्चालन हुने कंचन गाउपालिकाका कार्यक्रम संयोजक चुरामणी पौडेलले बताउनु भयो । उहाले कक्षा ६ देखि माथिका विद्यार्थी, कलेजका विद्यार्थी र अभिभावकसहित १० हजारभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्नु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रम संयोजक दिपेन्द्र प्रधानले नेपाल ध्यान तथा अध्यात्मको उद्गम भूमि भएको उल्लेख गर्दै युवामा बढ्दो निराशा, तनाव र मानसिक दबाब कम गर्न ध्यान प्रभावकारी माध्यम भएकोले रुपन्देहीमा सामुहिक ध्यान शिबिर आयोजना गर्न लागेको बताउनु भएको छ । उहाँले सबै वर्ग र समुदायको सहभागितासहित कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै गरी पत्रकार सम्मेलन बारे जानकारी गराउदै द आर्ट अफ लिभिङका प्रशिक्षक मंगल भण्डारीले ध्यान र श्वासप्रश्वास अभ्यासले मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गराउने अनुभव सुनाउँदै सबैलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ ।

द आर्ट अफ लिभिङ फाउण्डेसनले विश्व शान्ति, धार्मिक सहिष्णुता र मानवता प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिँदै आएको बरिष्ठ प्रशिक्षक बिष्णु पाण्डेले जानकारी दिनु भएको छ । सन् १९८१ मा गुरुदेव श्री श्री रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ फाउण्डेसन विश्वका १८० भन्दा बढी देशमा सक्रिय अन्तर्राष्ट्रिय गैर–नाफामूलक संस्था हो । योग, ध्यान तथा श्वासप्रश्वास प्रविधिमार्फत मानसिक शान्ति, सकारात्मक जीवनशैली र सामाजिक सद्भाव प्रवद्र्धन गर्दै आएको संस्थाको प्रमुख अभ्यास ‘सुदर्शन क्रिया’ रहेको छ ।

प्रकाशित मिति: २०२५-१२-१९ , समय : ११:३४:५८ , ४ घन्टा अगाडि