रुपन्देही खबर , ७८ पटक हेरिएको
भैरहवा,पुस १०
रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका–४ बसन्तपुरस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समिति कार्यालयमा मंगलबार स्थानीय बासिन्दाले ताला लगाएका छन्। लामो समयदेखि स्वच्छ खानेपानीको सुनिश्चितता नहुनुका साथै संस्थाको आर्थिक कारोबारमा पारदर्शिता नदेखिएको भन्दै स्थानीयले बाध्य भएर ताला लगाउनु परेको बताएका हुन ।
स्थानीयका अनुसार खानेपानी संस्था सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि उपभोक्ताले सन्तोषजनक सेवा पाउन सकेका छैनन्। साथै, संस्थाको आय–व्यय विवरण, बिलिङ प्रणाली, बाँकी रकम तथा आर्थिक हिसाबकिताब हालसम्म सार्वजनिक नगरिएको आरोप उनीहरूले लगाएका छन्। पटक–पटक जानकारी माग्दा पनि उपभोक्ता समितिले स्पष्ट जवाफ नदिई आलटाल गर्दै आएको स्थानीयको भनाइ छ।
यस विषयमा कार्तिक २५ गते उपभोक्ता समिति र स्थानीय बीच बसेको बैठकले ओमसतिया गाउँपालिका–४ का वडा अध्यक्ष अखिलेश्वर कुमार पाण्डेको रोहबरमा एक हप्ताभित्र सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। तर सो निर्णय भएको महिनौँ बितिसक्दा पनि खानेपानी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण पन्थी र कोषाध्यक्ष नवल किशोर टण्डनले कुनै विवरण सार्वजनिक नगरेको स्थानीयको आरोप छ।

निर्णय कार्यान्वयन नगरी निरन्तर बेवास्ता गरिएपछि अन्ततः मंगलबार कार्यालयमा ताला लगाइएको स्थानीयले जनाएका छन्। स्थानीय बासिन्दाले पारदर्शिता कायम नगरेसम्म र माग गरिएको विवरण सार्वजनिक नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
स्थानीयको यस कदमले ओमसतिया क्षेत्रमा खानेपानी व्यवस्थापन, उपभोक्ता समितिको उत्तरदायित्व र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। समस्या चाँडो समाधानका लागि सम्बन्धित निकायले समयमै हस्तक्षेप गर्नुपर्ने माग स्थानीयले गरेका छन्।
प्रकाशित मिति: २०२५-१२-२५ , समय : ०७:३६:५८ , ४ घन्टा अगाडि