सर्वेन्दर यादव , ९१ पटक हेरिएको
भैरहवा, पुस ३०
श्री रोहिणी कृषक सहकारी संस्था लिमिटेड, ओमसतिया गाउँपालिका–४ सिसहनिया, रुपन्देहीको १५ औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बेचन प्रसाद निसादको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको आर्थिक, प्रशासनिक तथा भावी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो।

सभालाई सम्बोधन गर्दै अध्यक्ष बेचन प्रसाद निसादले सहकारीलाई पारदर्शी, उत्तरदायी र सदस्य–केन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले “रोहिणी कृषक सहकारीलाई स्थानीय कृषकहरूको वास्तविक आवश्यकता अनुसार अघि बढाउँदै उत्पादन, बचत र लगानीका कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको बताउदै सदस्यहरूको विश्वास नै सहकारीको सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गर्नु भयो ।
अध्यक्ष निसादले सहकारीको आर्थिक अनुशासन, नियमित लेखापरीक्षण र आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउँदै लैजाने कुरामा पनि जोड दिनुभयो। उहाँका अनुसार आगामी दिनमा कृषि व्यवसायलाई प्रवर्द्धन गर्ने, सदस्यहरूलाई सहुलियत ऋण तथा प्रविधिमैत्री कार्यक्रममार्फत आत्मनिर्भर बनाउने योजना रहेको छ।
साधारण सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा आगामी दिनमा सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्य–मैत्री बनाउने विषयमा छलफल गरिएको थियो। सभाले संस्थाको आर्थिक अवस्था कमजोर रहेको निष्कर्ष निकाल्दै आगामी दिनमा कृषि उत्पादन, सदस्य सशक्तिकरण र आन्तरिक व्यवस्थापनमा जोड दिने निर्णय गरेको छ।
कार्यक्रममा शेयर सदस्यहरू बाबुराम यादव, शिवकुमार निसाद, जितेन्द्र प्रसाद कुर्मी, हिरालाल श्रीवास्तव, सीता चाइ तथा बृज लाल कुर्मी लगायतको सहभागिता रहेको थियो। सहभागी शेयर सदस्यहरूले सहकारीले स्थानीय कृषकको हितमा खेलेको भूमिकाको प्रशंसा गर्दै संस्थालाई अझ मजबुत बनाउँदै लैजान सुझाव दिएका थिए।
साधारण सभाले सहकारीको दिगो विकासका लागि आपसी सहकार्य, पारदर्शिता र जिम्मेवार व्यवस्थापन अपरिहार्य रहेकोमा जोड दिएको छ।
प्रकाशित मिति: २०२६-०१-१४ , समय : ०५:५५:५० , ४ घन्टा अगाडि