राष्ट्रिय योग दिवस तथा मकर सङ्क्रान्ति विशेष आध्यात्मिक योग कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ७८  पटक हेरिएको

बुटवल,माघ ४

एघारौँ राष्ट्रिय योग दिवस २०८२ तथा मकर सङ्क्रान्तिको पावन अवसरमा “स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिको लागि योग” भन्ने मूल नारासहित सिर्जनानगर योग साधना केन्द्रद्वारा आयोजित विशेष आध्यात्मिक योग कार्यक्रम भव्य, गरिमामय र प्रेरणादायी रूपमा सम्पन्न भएको छ।

कार्यक्रमले योगलाई केवल शारीरिक अभ्यासमा सीमित नराखी देह, मन र आत्माको एकात्म यात्राका रूपमा प्रस्तुत गरेको थियो। योग चेतना जागृत गराउने, मनलाई शान्त बनाउने र आत्मालाई करुणामय बनाउने साधना हो भन्ने सन्देशसहित सम्पन्न कार्यक्रममा साधक–साधिकाज्यूहरूको उल्लेख्य सहभागिताले सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जाले भरिएको थियो। आसन, प्राणायाम, ध्यान तथा मौन साधनाद्वारा कार्यक्रमस्थल योगमय उत्सवमा परिणत भएको थियो।

कार्यक्रमको अध्यक्षता उज्ज्वल आमा समूहकी अध्यक्ष कमला चापागाईँज्यूले गर्नुभएको थियो। उहाँको मातृवत् नेतृत्व र साधनाप्रतिको श्रद्धाले कार्यक्रमलाई थप प्रभावशाली बनाएको सहभागीहरूले बताएका छन्।

प्रमुख अतिथि नकुल शाही ठकुरीले ब्यानरमा अङ्कित दिव्य वाक्यको सामूहिक वाचन तथा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुहुँदै राष्ट्रिय योग दिवसको अवसरमा योगलाई दैनिक जीवनशैलीमा समावेश गर्न सबैलाई प्रेरणा दिनुभयो ।

यस्तैगरी विष्णु प्रसाद भुसालले योगद्वारा व्यक्ति, समाज र राष्ट्रको समग्र रूपान्तरण सम्भव हुने विषयमा धारणा राख्नुभएको थियो ।

त्यस्तै गरि खिमबहादुर तरामुले सूक्ष्म व्यायाम अभ्यास प्रस्तुत गर्दै शरीर–मन सन्तुलनका लागि यसको महत्वबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा आयोजक संस्थाहरू नहरपुर आमा समूह तथा इनर ह्वील क्लब अफ बुटवल जितगढीकी अध्यक्ष डिलकुमारी भट्टराई (यशोदा) ले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संयोजक मनोज कुमार मण्डलले अतिथि, साधक–साधिकाज्यू तथा सहयोगीहरूप्रति आभार प्रकट गर्नुभयो। कार्यक्रम सञ्चालन सुमित्रा चापागाई अधिकारीज्यूले गर्नुभएको थियो।

सिर्जनानगर योग साधना केन्द्रका पदाधिकारी, सदस्य तथा साधक–साधिकाज्यूहरूको सक्रिय सहभागिताले कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। कार्यक्रम स्थल उपलब्ध गराएको सिर्जनानगर खानेपानी उपभोक्ता समितिप्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

योगलाई व्यवहारमा उतार्दै शान्त, स्वस्थ र करुणामय समाज निर्माणको सन्देश प्रवाह गर्दै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०२६-०१-१८ , समय : १९:१०:५९ , ४ घन्टा अगाडि