अन्तर विद्यालय नृत्य प्रतियोगिता भैरहवामा सम्पन्न

ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिनियर र जुनियर दुवै तर्फ प्रथम

उर्मिला यादव यात्री , १७५  पटक हेरिएको

भैरहवा, माघ २५

मुलुकको कला, संस्कृति तथा लोकनृत्यको संरक्षण र संवद्र्धनमा निजी विद्यालयहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एक कार्यक्र्रमका वक्ताहरूले जोड दिएका छन । सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले शनिवार भैरहवामा आयोजना गरेको अन्तर विद्यालय नृत्य प्रतियोगितामा सहभागी वक्ताहरूले सो कुरामा जोड दिएका हुन । उनीहरुले राज्यले संरक्षण र प्रवद्र्धनमा अपेक्षित ध्यान दिन नसके पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्य जोगाउन यस्ता सिर्जनात्मक कार्यक्रम मार्फत योगदान गरिरहेको बताएका हुन ।

सिसा रुपन्देहीका अध्यक्ष एल.बि. रौतारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पोख्रेलले विद्यालय विद्यार्थीको भविष्य तय गर्ने मुख्य थलो भएको जोड दिदै शैक्षिक ज्ञानसँगै जीवनोपयोगी सीप, कला र संस्कृतिको विकासमा विद्यालयले विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ ।

उहाले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि कक्षाकोठाभित्रको पढाइसँगै यस्ता सिर्जनात्मक तथा सांस्कृतिक गतिविधि अपरिहार्य रहेको जोड दिनु भयो । उहाले “आजको शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन,” भन्दै “विद्यार्थीको रुचि, क्षमता र प्रतिभा उजागर गर्न कला, संस्कृति र अतिरिक्त क्रियाकलाप अत्यावश्यक भएको बताउनु भयो ।

यस्तै गरी कार्यक्रममा बोल्दै सिसा रुपन्देहीका सल्लाहकार तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ का प्रबन्धक अमित यादवले “राज्यस्तरबाट कला र संस्कृतिको संरक्षणमा पर्याप्त प्राथमिकता नपाए पनि निजी विद्यालयहरूले लोक संस्कृति, संगीत र नृत्यलाई जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउनु भएको छ । उहाँले “यस प्रकारका प्रतियोगितात्मक नृत्य कार्यक्रम केवल मनोरञ्जन मात्र नभई विद्यार्थीका लागि महत्वपूर्ण प्रयोगात्मक अभ्यास र सिकाइको माध्यम भएको बताउनु भयो । उहाले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास र सृजनशीलता विकास गराउने जोड दिनु भयो ।

सिसाका सल्लाहकार यादवले शिक्षासँगै खेलकुद तथा विभिन्न जीवनोपयोगी सीपको विकास विद्यार्थीका लागि अपरिहार्य भएकोले सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) रुपन्देहीले विद्यार्थीहरूको समग्र विकासका लागि यस्ता विविध कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । उहाले आगामी दिनमा पनि क्रिकेट, भलिबल लगायतका खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

त्यसैगरी सिसा रुपन्देहीका अध्यक्ष तथा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिनपा १ रानीगाउँका प्रधानाध्यापक एल.बी. रौतारले “सिसामा आबद्ध विद्यालयहरूबीच आपसी सहकार्य, स्वस्थ प्रतिस्पर्धा र अनुभव आदान–प्रदान गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताउनु भयो । उहाँले “यस्ता प्रतियोगिताले विद्यार्थीमा लुकेका प्रतिभा उजागर हुनुका साथै अनुशासन, नेतृत्व क्षमता र टोली भावनाको विकास हुन्छ,” भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने खुला मञ्च उपलब्ध गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउदै प्रतियोगितामार्फत विद्यार्थीहरूको प्रस्तुति क्षमता र आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

यस्तै गरी सिसा रुपन्देहीका कोषाध्यक्ष मनोज जिसीले “शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापलाई समान प्राथमिकतामा राख्दै सिसाले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै भविष्यमा अझ प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिनुभएको छ । कार्यक्रममा ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुलका को–अर्डिनेटर नारायण कश्यपको स्वागत मन्तव्य रहेको कार्यक्रम संचालन मोडर्न पब्लिक स्कुल भैरहवाका प्राचार्य मुकेश यादवले गर्नुभएको थियो ।

सिद्धार्थ इन्ट्रिग्रेटेड स्कूल एसोसिएसन (सिसा) मा आबद्ध विद्यालयहरू बीच सम्पन्न प्रतियोगितामा सिनियरतर्फ ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ रानीगाउँले प्रथम स्थान हासिल गरेको छ । यस्तै गरी मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ शिवपथ भैरहवाले द्वितीय, युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले तृतीय तथा सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले चौथो स्थान प्राप्त गरेका छन् ।

त्यस्तै गरी जुनियरतर्फ भएको नृत्य प्रतियोगितामा पनि ब्राइट स्टार इङ्लिस बोर्डिङ स्कुल सिद्धार्थनगर–१ रानीगाउँ प्रथम हुन सफल भएको छ । सिद्धार्थ एकेडेमी सिद्धार्थनगर–७ भैरहवाले द्वितीय, मोडर्न पब्लिक स्कुल सिद्धार्थनगर–८ शिवपथ भैरहवाले तृतीय तथा युनिक पब्लिक बोर्डिङ स्कुल ओमसतिया–४ ले सान्त्वना स्थान हासिल गरेको थियो ।

प्रतियोगितामा विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र, शिल्ड तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो । साथै सहभागी विद्यालयका प्राचार्य, नृत्य शिक्षक तथा प्रशिक्षकहरूलाई समेत मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो । यस्तै गरी पत्रकारिता क्षेत्रमार्फत समाजमा उल्लेखनीय योगदान पु¥याएको भन्दै रुपन्देही खबरका प्रबन्धक तथा कार्यकारी सम्पादक उर्मिला यादव यात्रीलाई नगद पाँच हजार एक सय एक रुपैयाँसहित सम्मान गरिएको थियो । साथै अनामिका जब लिंकका प्रबन्धक अनामिका यादवलाई समेत सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षा क्षेत्रका सरोकारवाला तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो । उपस्थित दर्शकहरूले विद्यार्थीहरूको नृत्य प्रस्तुतिलाई उत्साहजनक तालीका साथ प्रशंसा गरेका थिए ।

आयोजक सिसा रुपन्देहीले आगामी दिनमा पनि कला, संस्कृति, खेलकुद तथा सिर्जनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै विद्यार्थीहरूको समग्र विकासमा योगदान पु¥याउने जनाएको छ ।

प्रकाशित मिति: २०२६-०२-०८ , समय : १५:०८:३८ , १५ घन्टा अगाडि