रुपन्देही खबर , ९८ पटक हेरिएको
भैरहवा,माघ २९
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा रुपन्देही जिल्लाभित्र सिद्धार्थनगर नगरपालिका प्रथम भएको छ । आयोगले सार्वजनिक गरेको नतिजाअनुसार सिद्धार्थनगर नगरपालिकाले ६८.४६ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो ।
मूल्यांकनमा तिलोत्तमा नगरपालिका ६६.५४ अंकका साथ दोस्रो र कञ्चन गाउँपालिका ६४.५५ अंकसहित तेस्रो स्थानमा रहेका छन् । आयोगले बिहीबार देशभरका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको हो ।
आयोगका अनुसार मूल्यांकनका प्रमुख सूचकहरूमा असार १० भित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबाट संकलित रकममध्ये प्रदेश सरकारलाई बुझाउनुपर्ने ४० प्रतिशत हिस्सा मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको लगायतका विषय समावेश गरिएको थियो ।
यस उपलब्धिले सिद्धार्थनगर नगरपालिकाको वित्तीय अनुशासन, समयमै बजेट प्रक्रिया पूरा गर्ने क्षमता तथा अन्तरसरकारी वित्तीय दायित्वप्रति जिम्मेवारीलाई स्पष्ट रूपमा देखाएको छ ।
प्रकाशित मिति: २०२६-०२-१२ , समय : १८:१७:२० , ३ घन्टा अगाडि