रुपन्देही खबर , ९६ पटक हेरिएको
भैरहवा, फागुन ६
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको गोपाल भण्डारीले आफ्नो उम्मेदवारी फिर्ता लिदै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहरालाई समर्थन गर्ने घोषणा गर्नु भएको छ ।

भण्डारीले बुधबार भैरहवामा पत्रकार सम्मेलन गर्दै राप्रपाले अघि सारेका नीति, विचार र दृष्टिकोणसँग आफ्ना सामाजिक, धार्मिक तथा विकास निर्माणसम्बन्धी उद्देश्यहरू मेल खाएकोले समान विचारधारा तथा एजेन्डा भएका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गौरव बोहरालाई समर्थन गर्ने निर्णय गरेको बताउनु भएको हो ।

उहाले वैदिक सनातन हिन्दु राष्ट्रसहितको राजसंस्था पुनस्र्थापना, संघीयताको खारेजी तथा २०४६ सालदेखि हालसम्म भएका भ्रष्टाचारका घटनामा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने राप्रपाको नीति र सिद्धान्तलाई समर्थन गर्दै पार्टीको चुनाव चिन्ह हलोमा मतदान गर्न अपील गर्नु भएको छ ।
भण्डारीले रुपन्देही–३ मा राप्रपाका उम्मेदवार गौरव बोहरालाई विजयी गराउन आफू पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै सम्पूर्ण समर्थक, शुभेच्छुक, हिन्दुवादी, राजसंस्थावादी, राष्ट्रवादी तथा भ्रष्टाचारविरोधी नागरिकहरूलाई एकजुट भई मतदान गर्न आग्रह गर्नु भएको छ ।
प्रकाशित मिति: २०२६-०२-१८ , समय : १५:४९:२२ , ३ घन्टा अगाडि