उम्मेदवार थापाको घरदैलोमा आवाज:‘गाउँमै रोजगारी चाहियो’

रुपन्देही खबर , १२३  पटक हेरिएको

नवलपरासी,फागुन ७

प्रतिनिधिसभा निर्वाचनको प्रचार–प्रसारका क्रममा घरदैलो अभियानमा रहनु भएका नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा (भरत) समक्ष स्थानीय मजदुरदेखि महिला उद्यमीहरूले गाउँमै रोजगारीको सुनिश्चितता गर्न माग गरेका छन्।

अभियानका क्रममा विभिन्न बस्ती तथा उद्योग–व्यवसाय सञ्चालन भइरहेका क्षेत्रमा पुग्दा मतदाताहरूले सीप भएर पनि अवसर नपाउँदा बेरोजगार बस्नुपरेको गुनासो गरेका छ्न । वैदेशिक रोजगारीतर्फ युवाको पलायन बढ्दो क्रममा रहेको उल्लेख गर्दै उनीहरूले गाउँमै साना तथा मझौला उद्योग स्थापना, सीपमूलक तालिम र बजार व्यवस्थापनमा पहल गर्न आग्रह गरेका छ्न ।

“काम गर्ने हात छन्, तर कामको अवसर छैन। हामीलाई गाउँमै काम गर्ने उद्योग खोल्ने वातावरण बनाइदिनुस्,” स्थानीय मजदुरहरूको माग थियो।

त्यस्तै, महिला उद्यमीहरूले घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहुलियत ऋण, आवश्यक तालिम र उत्पादनको बजारीकरणमा सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

मतदाताको माग सुनेपछि उम्मेदवार थापाले आफू सुनवल नगरपालिकाको मेयर तथा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा सीपलाई उद्यमसँग जोड्ने कार्यक्रमहरू सञ्चालन गरेको स्मरण गराउँदै आगामी दिनमा रोजगारी सृजनालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले सीप भएका युवालाई उद्यमसँग जोड्ने, स्थानीय स्रोत–साधनको सदुपयोग गर्ने र त्यसका लागि नीतिगत पहल गर्ने स्पष्ट धारणा राख्दै गाउँमै आत्मनिर्भर रोजगारी सृजना गर्ने आफ्नो लक्ष्य दोहोर्याउनुभयो।

प्रकाशित मिति: २०२६-०२-१९ , समय : १७:२१:३७ , १२ घन्टा अगाडि