भैरहवामा यही चैत ३० गते सिद्धार्थ ‘रैथाने सडक खाना महोत्सव’ हुँदै

रुपन्देही खबर , १२७  पटक हेरिएको

भैरहवा, चैत २२

नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यालाई लक्षित गर्दै भैरहवामा ५ औं सिद्धार्थ रैथाने सडक खाना महोत्सव आयोजना हुने भएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीको आयोजनामा हुने उक्त महोत्सव चैत ३० गते साँझ ७ बजेदेखि राति १२ बजेसम्म रंगशाला रोडमा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

लोपोन्मुख अवस्थामा रहेका विभिन्न समुदायका रैथाने खानाको संरक्षण, प्रवद्र्धन र प्रवाह गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको संगठनका अध्यक्ष राजेश महोत्रा जानकारी दिनुभयो । उहाले रैथाने परिकारहरूलाई आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनाउँदै पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने लक्ष्य रहेको जोड दिदै महोत्सवमा थारु, मगर, नेवारी, गुरुङ तथा मधेशी समुदायका मौलिक परिकारहरू विशेष प्राथमिकताका साथ प्रस्तुत गरिने बताउनु भयो ।

महोत्सवमा भैरहवा तथा आसपासका तारे होटलका परिकारका स्टलहरू समेत रहनेछन् । करिब ८० वटा स्टल रहने कार्यक्रमका सबै परिकार सहुलियत दरमा उपलब्ध गराइनेछन् । उपभोक्ता हितलाई ध्यानमा राख्दै प्रत्येक स्टलमा मूल्यसूची अनिवार्य राखिने र अनुगमनका लागि समिति गठन गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सवमा २५ देखि ३० हजारसम्म स्वदेशी तथा भारतीय पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ भने करिब १ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहनेछ, जसले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।

पत्रकार सम्मेलनमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, रूपन्देहीका पुर्व अध्यक्ष तथा होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशमा महासचिव गणेश प्रसाल बेल्वासे महोत्सवले भैरहवाको व्यापारिक गतिविधि बढाउँदै पर्यटन क्षेत्रको पुनरुत्थानमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष एवम होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवालीले महोत्सवको चुनौती बारे बोल्दै महोत्सवलाई केवल खानाको कार्यक्रम नभई भैरहवाको पर्यटन र व्यवसाय प्रवद्र्धनसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिइएको उल्लेख गर्दै यसले स्थानीय उत्पादनको प्रवद्र्धन, उद्यमशीलता र व्यवसायिक क्रियाकलापलाई सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाले यस अवसरमा भैरहवाको मौलिक रैथाने खानालाई मात्र प्रदर्शित नगरी, स्थानीय व्यवसायी, होटल तथा रेष्टुरेन्टसँग समन्वय गर्दै गुणस्तरीय सेवा, स्वच्छता र सुरक्षित वातावरण सुनिश्चित गर्ने योजना रहेको बताउनु भयो । साथै महोत्सवले आन्तरिक र बाह्य पर्यटकलाई भैरहवा आकर्षित गर्ने, सांस्कृतिक र परम्परागत स्वादलाई संरक्षण गर्ने, र समग्र पर्यटन उद्योगमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको उहाले जोड दिनु भयो ।

ज्ञवालीले भन्नु भयो , “हामीले यस्ता कार्यक्रमलाई केवल मनोरञ्जनको माध्यम नभई भैरहवाको आर्थिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनसँग जोडिएको रणनीतिक अवसरको रूपमा हेरेका छौँ। व्यवस्थित योजना, सहभागिता र समन्वयमार्फत यस महोत्सवलाई उदाहरणीय बनाउने हाम्रो उद्देश्य हो।”

यसैगरी, उहाले महोत्सवले स्थानीय युवा उद्यमशीलता, महिला सशक्तिकरण र समुदायको सहभागितालाई प्रवद्र्धन गर्ने महत्वपूर्ण प्लेटफर्मका रूपमा काम गर्ने विश्वास व्यक्त गर्दै सबै सरोकारवालासँग सहकार्य गरेर कार्यक्रमलाई सफल बनाउने प्रतिबद्धता दोहोर्याउनु भयो । साथै विभिन्न व्यवसायिक तथा पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले महोत्सव सफल बनाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २०२६-०४-०५ , समय : २१:३१:४५ , ३ घन्टा अगाडि