सिद्धार्थनगरमा अत्याधुनिक प्रशासनिक भवन उद्घाटनः ‘सेवा सहज, विकास तीव्र’ बनाउने प्रतिबद्धता

रुपन्देही खबर , ६६  पटक हेरिएको

भैरहवा,चैत २५

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नवनिर्मित अत्याधुनिक प्रशासनिक भवन उद्घाटन भएसँगै स्थानीय सरकारको सेवा प्रवाहलाई नयाँ उचाइमा लैजाने अपेक्षा गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले संयुक्त रूपमा भवन उद्घाटन गर्दै नगरको प्रशासनिक संरचनालाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

२०७८ मंसिर २७ गते शिलान्यास गरिएको उक्त भवन निर्माण प्रक्रिया विभिन्न चुनौतीबीच सम्पन्न भई अन्ततः सञ्चालनमा आएको हो । करिब ४ कठ्ठा क्षेत्रफलमा फैलिएको भवन २३ करोड ९२ लाख ६९ हजार रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत जनक थापाका अनुसार प्रारम्भिक लक्ष्यअनुसार समयमै सम्पन्न हुन नसके पनि म्याद थप गर्दै २०८२ असोज ३० गते निर्माण कार्य पूरा गरिएको हो ।

नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाका सबै प्रमुख शाखाहरू एउटै परिसरमा केन्द्रित हुनेछन् । यसले सेवाग्राहीलाई पटक–पटक धाउनुपर्ने झन्झट हटाउने मात्र होइन, सेवा प्रवाहलाई छिटो, सरल र पारदर्शी बनाउने विश्वास लिइएको छ ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख खाँले नगरप्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले यहाँको मात्र नभइ समग्र नेपालको विकास हुने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन संघीय सरकारसँग आग्रह गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकामा धेरै काम भए पनि प्रचार भने गर्न नसकिएको बताउनुभयो । उहाँले निधक्क भइ आफ्ना समस्या राख्न नगरबासीलाई आग्रह गर्नुभयो । नगरप्रमुख खाँले सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र मायादेवी गाउँपालिका मिलेर उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले नगरबासीको साथ र सहयोग बिना आफूहरु अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अहिलेसम्म नगरबासीबाट पाएको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उपप्रमुख अधिकारीले नकारात्मक सोच हटाइ सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार खोज्दा आफ्नो कर्तव्य भने बिर्सन नहुने धारणा राख्नुभयो ।

निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सामाजिक सञ्जालमा विरोध गर्नुभन्दा नगरपालिका पुगेर आफ्ना समस्या सिधै जनप्रतिनिधिसमक्ष राख्न आग्रह गर्नुभयो । उहाँले सीमित बजेट भएकोले एकैपटक सम्पूर्ण क्षेत्रमा विकास हुन नसक्ने बताउनुभयो ।

नगर प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जनतालाई ढिलासुस्ती महसुस नहुने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धार्थनगरमा राम्रा कामहरु अघि बढेको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरपालिकाको सिंगो टीमले पहल गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दु, लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवाली, साहित्यकार विजय गोविन्द श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा पत्रकार, साहित्यकार, खेलाडी, विद्यार्थी, कर्मचारी तथा निर्माण व्यवसायीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । यसले नगरको समग्र विकासमा विभिन्न क्षेत्रको योगदानलाई कदर गरिएको सन्देश दिएको छ । नवनिर्मित प्रशासनिक भवन सिद्धार्थनगर–५ मा अवस्थित रहेको छ । आधुनिक संरचना, व्यवस्थित सेवा कक्ष र प्रविधिमैत्री प्रणालीसहितको यो भवन अब सिद्धार्थनगरको प्रशासनिक केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२६-०४-०८ , समय : ११:२५:३८ , ३ घन्टा अगाडि