जिउँदो व्यक्तिको मृत्यु दर्ता प्रकरण: वडाध्यक्षसहित ४ जना पक्राउ

रुपन्देही खबर , १६३  पटक हेरिएको

पश्चिम नवलपरासी, वैशाख १६

जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको गम्भीर आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन्।
जिल्ला अदालत नवलपरासीले पक्राउपुर्जी जारी गरेपछि उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो।

यस प्रकरणमा झुटा विवरण पेश गरी मृत्यु दर्ता गराउने मुख्य आरोपी नारायणीपारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी यसअघि नै पक्राउ परिसकेका छन्। अन्सारीले आफ्नो पिताको मृत्यु भएको भनी वडा नम्बर ५ मा निवेदन दिँदै, वास्तवमा जीवित रहेका आफ्नै आफन्त ६६ वर्षीय व्यक्तिको गत वर्ष मङ्सिर ७ गते मृत्यु दर्ता गराएका थिए।

अनुसन्धानका क्रममा अन्सारीका पिताको भने २०६० सालमै निधन भइसकेको खुल्न आएको छ। आफू जीवित हुँदाहुँदै मृत्यु दर्ता भएको थाहा पाएपछि सम्बन्धित वृद्धका छोराले गत वर्ष चैत महिनामा प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मृत्यु दर्ता मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्। यसैबीच, साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य ७ जना भने फरार रहेका छन्। उनीहरूको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ अन्तर्गत धारा ४१ (ग) र (च) बमोजिम झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूलाई आज अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२६-०४-२९ , समय : १२:३५:११ , २ दिन अगाडि