एसइईको नतिजा सार्बजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

रुपन्देही खबर , ८०  पटक हेरिएको

काठमाडौं,बैशाख २८

राष्ट्रिय परीक्षा बोर्डले २०८२ को एसइईको नतिजा सार्बजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सोमबार राति नतिजा प्रकाशन गरेको हो । यस बर्षको एसइईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।कार्यालयले एसइई २०८२ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमइस,आईभीआर र वेबसाइटबाट हेर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । जसअनुसार नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, युएसएसडी र आईभीआर सेवा उपलब्ध हुनेछ । यस्तै जानकी टेक्नोलोजी प्रालिको ३५००१ तथा एम्बिसन गुरु प्रालिको ३१००३ नम्बरमार्फत पनि एसएमएस सेवा प्रयोग गर्न सकिनेछ । साथै अन्य प्राविधिक साझेदारमार्फत् विभिन्न वेबसाइट तथा मोबाइल एपमार्फत् पनि नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

गत चैत्र १९ देखि २९ सम्म भएको यस बर्षको एसइई परीक्षाको नतिजा एक महिना भित्र प्रकाशित गर्न सरकारले दिएको निर्देशन दिएको थियो ।यस बर्षको एसइईमा सहभागी हुने विद्यार्थीको संख्या ५ लाख १२ हजार ४२१ रहेको थियो । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गरिएको थियो । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण गरिएको र प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको थियो । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा विद्यार्थीले प्राप्त गरेको अंक परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको थियो ।

प्रकाशित मिति: २०२६-०५-११ , समय : २२:५६:०४ , २ घन्टा अगाडि